Odapalika - The Fourth Estate - चौथो अंग
जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिन जनप्रतिनिधि हुनुपर्ने कि नपर्ने ?

काठमाडौँ । सरकारले आउँदो मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्दै छ । जिल्ला समन्वय समिति (जिसस)को प्रमुख २ सहित रिक्त ४४ पदका लागि उपनिर्वाचन हुन लागेको हो । 

जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उक्त दिन निर्वाचन हुनेछ ।

जसअनुसार ओखलढुङ्गा र कैलालीको जिल्ला समन्वय समिति प्रमुख पदका लागि उपनिर्वाचन हुन लागेको हो । 

जिसस प्रमुख र उपप्रमुख पदमा उम्मेदवारी दिन जनप्रतिनिधि हुनुपर्छ ?

स्थानीय तहको निर्वाचन नजिकिएसँगै जिसस प्रमुख तथा उपप्रमुख पदमा उम्मेदवारी दिन निर्वाचित जनप्रतिनिधि हुनुपर्छ कि पर्दैन ? भन्ने चासो बढेको देखिन्छ । गाउँपालिका र नगरपालिकामा स्वतन्त्र व्यक्तिले उम्मेदवार दिन पाउँछ भने जिसस प्रमुखमा पाउँछ कि पाउँदैन ? भन्ने प्रश्न अहिले उठिरहेको छ । 

नेपालको स्थानीय तह निर्वाचन ऐन, २०७३ अनुसार जिसस प्रमुख तथा उपप्रमुख पदमा स्वतन्त्र व्यक्तिले उम्मेदवारी दिन पाउँदैनन् । जिसस प्रमुख तथा उपप्रमुखमा उम्मेदवारी दिन स्थानीय तहका निर्वाचित जनप्रतिनिधि हुनुपर्ने स्थानीय तह निर्वाचन ऐन, २०७३ ले व्यवस्था छ । 

ऐनअनुसार जिसस प्रमुख तथा उपप्रमुखमा उम्मेदवारी दिन गाउँपालिका र नगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्य पदमा निर्वाचित भएको व्यक्ति हुनुपर्नेछ । 

स्थानीय तह निर्वाचन नियमावली २०७३ अनुसार जिसस प्रमुख, उपप्रमुख र सदस्य पदमा उम्मेदवारी दिन गाउँपालिका र नगरपालिकाको सदस्य भएको निस्सा पेस पेस गर्नुपर्ने व्यवस्था छ । स्थानीय तह निर्वाचन नियमावली २०७३ को नियम ६ मा मनोनयनपत्र साथ उम्मेदवारले पेस गर्नुपर्ने कागजातको व्यवस्था गरेको छ । नियम ६ को ‘ज’मा ‘जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख र सदस्य पदका लागि सम्बन्धित जिल्लाभित्रका गाउँसभा वा नगरसभाको सदस्य रहेको निस्सा’ चाहिले व्यवस्था गरेको छ । 

यसर्थ जिसस प्रमुख, उपप्रमुख र सदस्यमा उम्मेदवारी दिन सम्बन्धित् जिल्लाको गाउँपालिका वा नगरपालिकाको सदस्य भएको हुनुपर्ने स्पष्ट संवैधानिक व्यवस्था रहेको देखिन्छ । 

यही प्रक्रियाबाटै स्थानीय तह निर्वाचन ऐन र नियमावलीअनुसार जिल्ला समन्वय समितिमा प्रमुख र उपप्रमुखसहित ९ सदस्य निर्वाचित हुनेछन् ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  १४:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update