काठमाडौँ । सरकारले आउँदो मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्दै छ । जिल्ला समन्वय समिति (जिसस)को प्रमुख २ सहित रिक्त ४४ पदका लागि उपनिर्वाचन हुन लागेको हो ।
जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उक्त दिन निर्वाचन हुनेछ ।
जसअनुसार ओखलढुङ्गा र कैलालीको जिल्ला समन्वय समिति प्रमुख पदका लागि उपनिर्वाचन हुन लागेको हो ।
जिसस प्रमुखलाई कसले भोट दिन्छ ?
जिसस प्रमुख, उपप्रमुख तथा सदस्यको उम्मेदवार गाउँसभा र नगरसभाका सदस्य बन्न पाउँछन् भने मत कसले दिन्छ ? स्थानीय तहको निर्वाचन नजिकिएसँगै यो जिज्ञासा बढेको देखिन्छ । जिसस प्रमुख, उपप्रमुख र सदस्यको उम्मेदवार तथा मतदाताको व्यवस्था स्थानीय तह निर्वाचन ऐन, २०७३ ले गरेको छ ।
ऐनअनुसार जिसस प्रमुख तथा उपप्रमुखमा उम्मेदवारी दिन गाउँपालिका र नगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्य पदमा निर्वाचित भएको व्यक्ति हुनुपर्नेछ ।
तर, जिसस प्रमुख, उपप्रमुख र सदस्यलाई गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष र नगरपालिकाको प्रमुख र उपप्रमुखले मात्र मत दिन पाउँछन् ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २ को ‘ड’ को ४ मा जिसस प्रमुख, उपप्रमुख र सदस्यको मतदाताको व्यवस्था गरेको छ । दफा २ को ‘ड’ को ४ मा लेखिएको छ, ‘जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख र सदस्यको निर्वाचनका लागि प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष ।’
स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २ ले प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष भन्नाले नगरपालिकाको प्रमुख र उपप्रमुख तथा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष भन्ने परिभाषा गरेको छ ।
यसर्थ, जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख र सदस्यको निर्वाचनमा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र नगरपालिकाको प्रमुख र उपप्रमुखले मात्र मत दिन पाउने स्थानीय तह निर्वाचन ऐन, २०७३ले व्यवस्था गरेको छ ।