Odapalika - The Fourth Estate - चौथो अंग
रास्वपाको तर्फबाट स्थानीय तहमा खाता खोल्न जुट्दैछन् प्रकाश, यस्ता छन् एजेण्डा 

काठमाडौँ । रास्वपाका केन्द्रीय सभापति रवि लामिछाने सहकारी ठगी र संगठीत अपराधको अभियोगमा कहिले पोखरा कहिले बुटवल घुम्दै प्रहरी र सरकारी वकिल कार्यालयमा बयान दिइरहेका  छन् । 

यही बेला कर्णालीको एउटा विकट जिल्लाबाट ३१ वर्षे युवा भने आफ्नो पालिकामा मात्र होइन, जिल्ला हुँदै प्रदेशमै रास्वपा चम्काउन कठीन अग्नि परीक्षामा होमिएका छन् । 

ती युवा हुन्, दैलेखको महावु गाउँपालिकाका प्रकाश कुमार बुढा । १६ मंसिरमा महाबु गाउँपालिकाको अध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । सो उपनिर्वाचनमा बुढा रास्वपाबाट प्रतिस्पर्धा गर्दैछन्, पहिलोपटक । 

बामपन्थी पृष्ठभूमि र राजनीतिक चरित्र भएका बुढा अभियन्ता र सामान्य व्यापारी हुन् । तर गाउँपालिका अध्यक्षका लागि पार्टीले उम्मेदवार सिफारिस गरेकै दिनबाट उनी पालिकाको विकासका एजेण्डा बुनेर गाउँ डुल्न थालिसकेका छन् । 

चिरपरिचित राजनीतिक शक्तिहरु कांग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र तीनका ‘भेट्रान स्थानीय नेता’लाई टक्कर दिएर जित्नु फलामको चिउरा हो भन्ने बुढालाई थाहा छ । 

‘परम्परागत शक्तिले बर्चश्व जमाउँदै आएको ठाउँमा नयाँ दलबाट संगठनसमेत नभएको ठाउँमा उम्मेदवारी दिएर जित्ने तयारीका साथ स्पष्ट एजेण्डा लिएर मैदानमा होमिइसकेको छु,’ वडापालिकासँगको फोन सम्पर्कमा बुढाले सुनाए । 

हामीले उनलाई सोध्यौँ–कांग्रेसका उम्मेदवारले चुनाव जितेको, एमाले र माओवादीका उम्मेदवारले ‘नेक टु नेक प्रतिस्पर्धा’ गरेको क्षेत्रमा तपाईको जित्ने आधार के हो ? 

उनी जित्ने आधार बताउनुअघि हामीसँग आफ्नो अतित बताउन थाले । 

काठमाडौँको ताहाचलस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसबाट स्नातक गरेका उनी विद्यार्थीकालमा एमाले निकट अनेरास्ववियुको राजनीतिमा थिए । उनकी आमा प्रेमकुमारी बुढा २०७४ सालको स्थानीय तह उम्मेदवारमा जिल्लामै सबैभन्दा पपुलर मतसहित महाबु गाउँपालिका उपाध्यक्षमा एमालेको तर्फबाट बिजयी भएकी थिइन् । 

एमाले विभाजनपछि अध्यक्ष केपी ओलीलाई प्रतिगमनकारी भन्दै उनी परिवारसहित माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा समाहित भए । 

आमा अहिले पनि समाजवादीमै छिन् । तर प्रकाशले भने एक वर्षअघि नै माधव नेपाललाई पनि प्रतिगमनकारीकै संज्ञा दिएर रास्वपा रोजे । 

परिवारमा काइलो छोरा उनी सामाजिक कामसँगै दैलेखबजारमा फेन्सी पसल चलाउँछन् । 

कर्णाली प्रदेशमा रगत अभावले मान्छे मर्न नदिन कर्णाली युथ फर व्लड नामक संस्था स्थापना गरेर रगत अभियानमा जुटे । उनी अहिलेपनि दैलेखको व्लड बैंकको सदस्य र दैलेख जेसिआइका अध्यक्ष छन् । 

१६ मंसिरमा हुने चुनावी मैदानमा उनको भेट कांग्रेसका झलक बहादुर भण्डारी र माओवादी केन्द्रका जंग बरालसँग हुने पक्का भइसकेको छ भने एमालेले अहिलेसम्म उम्मेदवार टुंगो लगाएको छैन ।  

२०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसले २९ सय ७९ मतसहित चुनाव जित्दा एमालेका उम्मेदवारले २५ सय र माओवादी–नेकपा एसका साझा उम्मेदवारले २२ सय ६८ मत ल्याएका थिए । 

अब यही मत चोरेर उनी अन्य दलका उम्मेदवारलाई पछि पार्दै चुनाव जित्ने अभियानमा छन् । 

किनकि, दैलेखमा रास्वपाले सभापतिसहित जिल्ला कमिटीका केही सदस्य तोक्नुबाहेक संगठन बनाउन सकेको छैन । अघिल्लो पटकको संघीय निर्वाचनमा दैलेखबाट रास्वपाले पाएको प्रत्यक्ष मत पनि ४५० हाराहारी हो । 

यस्तो अवस्थामा प्रकाश बुढा अघिल्लो पटक आफ्नै आमाको कार्यकालमा भएका कमजोरीसमेतलाई एजेण्डा बनाएर चुनावी प्रचारमा जुट्ने बताउँछन् । उनले सुशासन र उत्पादनलाई पहिलो प्राथमिकतामा राखेर आफुले महाबुका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।  

युवालाई स्वरोजगार बनाउने भिजन आफुसँग भएको भन्दै उनले सुनाए– स्वरोजगार सिर्जना गर्ने हो । हामीकहाँ स्वच्छ पानी छ । त्यही बेच्ने हो । टिमुर, अल्लो र आलु बेच्छु ।  वडा वडामा संकलन केन्द्र खोल्छु । बर्दियाको राजापुर जस्ता पालिकामा लगेर महावुको उत्पादन बेच्छु, त्यहीबाट धान र गहुँ ल्याउँछु । यहाँका जनतालाई चामको भात सस्तोमा खुवाउँछु ।  हामीले क्रान्ति र परिवर्तन गर्ने भनेकै कृषिमा हो । रोजगारीमा हो । जुन काम अहिलेसम्म पुराना दलबाट सम्भव भएन । अब म गरेर देखाउँछु । जनताले मलाई जिताएर यो कामका लागि पठाउँदैछन् । 

यति भनेर उनले फोन काटे ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  १७:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update