Odapalika - The Fourth Estate - चौथो अंग
झापा, ताप्लेजुङ र तेह्रथुमका ३० स्थानीय तहमा अपाङ्गता परिचयपत्र अभियान, यसरी हुँदैछ कार्यक्रम

काठमाडौँ । अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण, पहिचान र परिचयपत्र वितरण गर्ने उद्देश्यले कोशी प्रदेशका ३० वटा पालिकामा अभियान चलाइने भएको छ । 

अपाङ्गता रोकथाम तथा पुनःस्थापनाका लागि प्रदेश सरकार, स्थानीय तह र करुणा फाउण्डेसन नेपालको त्रिपक्षीय लागत सहभागितामा आगामी मंसिर २ गतेदेखि पुस दोस्रो हप्तासम्म अभियानमूलक कार्यक्रम हुने भएको हो । 

झापा, ताप्लेजुङ र तेह्रथुमका स्थानीय तहको प्रत्येक वडामा अपाङ्गता रोकथाम तथा पुनःस्थापनाका लागि शिविर आयोजना गर्ने तयारी भइरहेको करुणा फाउण्डेसन नेपाल कोशीका कार्यक्रम संयोजक कमल कोइरालाले बताए । 

उनले कार्यक्रममा नवजात शिशु, १० वर्षमुनिका बालबालिकाको परिचयपत्र वितरण, स्वास्थ्य परीक्षण, श्रवणयन्त्र, ह्वीलचियर, कृत्रिम हातखुट्टाको नापजाँच, विद्यालय भर्नालगायत सेवा उपलब्ध हुने जानकारी दिए ।

२०७८ को जनगणनाअनुसार झापामा २३ हजार ९८८ अपाङ्गता भएका व्यक्ति छन् । जसमा ९ हजार ५५९ जनाले परिचयपत्र लिइसकेका छन् ।

संयोजक कोइरालाले झापाका पालिकामा १३ हजार ३६४ जनाको लगत सङ्कलन गरिसकेको र उनीहरूलाई सेवा प्रदान गर्ने तयारी भइरहेको बताए ।

अर्जुनधारामा १ हजार २९०, कनकाईमा ७३८, गौरादहमा ६६३, दमकमा १ हजार ७९, बिर्तामोडमा ७८९, भद्रपुरमा ९१३, मेचीनगरमा १ हजार ७४४ र शिवसताक्षी नगरपालिकामा ८०३ तीन जना अपाङ्गता भएका व्यक्तिको तथ्याङ्क सङ्कलन भइसकेको छ ।

कमल गाउँपालिकामा ८८९, कचनकवलमा ९०६, गौरीगञ्जमा ६३९, झापामा ५२२, बाह्रदशीमा ८९९, बुद्वशान्तिमा ८७६ र हल्दिबारी गाउँपालिकामा ६१३ जना अपाङ्गता भएका व्यक्तिको तथ्याङ्क सङ्कलन गरिएको छ ।

आगामी मङ्सिर २ देखि ८ गतेसम्म बाह्रदशी गाउँपालिका र ३ देखि १२ गतेसम्म भद्रपुर नगरपालिकामा शिविर हुने मिति तय भइसकेको छ ।

कार्यक्रमबाट नवविवाहित दम्पती, नवजात शिशु, १० वर्षमुनिका बालबालिका, अपाङ्गता भएका बालबालिका, वयस्क, ज्येष्ठ नागरिक र उनीहरूका परिवारका सदस्य, अपाङ्गता भएका व्यक्तिका संस्था र समूह लाभान्वित हुने  छन् । 

कार्यक्रम संयोजक कोइरालाले तीनवटा संस्थाबीच कार्यक्रम सञ्चालनका लागि रु १२ करोडभन्दा बढीको लागत साझेदारी रहने जानकारी दिए ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  ०७:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update