Odapalika - The Fourth Estate - चौथो अंग
गन्यापधुरामा के गर्दैछन् कांग्रेस सभापति शेरबहादुर देउवा ? 

काठमाडौँ । कांग्रेस पार्टीका अधिवेशन, बैठक र महत्वपूर्ण राजनीतिक एजेण्डा खास छैनन् अहिले । त्यही भएर सो पार्टीका सभापति शेरबहादुर देउवा निकै फुर्सदमा जस्ता देखिएका छन् । कांग्रेस सभापति भएपछि सम्भवत पहिलो पटक उनी गृहजिल्ला तथा जन्मगाउँमा घुमिरहेका छन्, ५ दिनयता ।

कांग्रेसका स्थानीय नेताका अनुसार उनको डुलाईको सेडुल ७ दिनको छ । र अचम्म त के छ भने सधै राजनीतिक भेटघाटमा व्यस्त हुने देउवा यसपटक गृह जिल्ला र जन्मगाउँमा पारिवारिक, संस्कृतिक र सामाजिक काममा मात्र भेटिइरहेका छन् । 

आज उनी जन्मगाउँ रुवाखोला पुगेका छन् । यो गन्यापधुरा गाउँपालिकामा पर्छ । यहाँ उनी कुल पूजाका लागि पुगेको आफन्त र स्थानीयको भनाइ छ । शुक्रवार जन्मघर नजिकै रहेको पिपल चौतारीमा बसेर देउवा निकैबेर गफिए । 

स्थानीयसँग भलाकुसारीमा पनि उनी दौरा सुरुवाल, कोट र टोपीमा चिटिक्क देखिन्छन् । 

आज विहानमात्र उनी परशुराम नगरपालिकाका जनप्रतिनिधि र स्थानीय भेट्न पुगे । हिजो उनी विमानस्थलका लागि प्रस्तावित अजयमेरु गाउँपालिका– १ पुइलेक डाँडामा पुगेर अवलोकन गरेर फर्किए । 

deuba-(4)-1731669416.jpg
स्थानीयसँग लामो समय भलाकुसारी गरे । डडेलधुराको बसाइका क्रममा एक दिनमात्र उनले राजनीतिक कार्यक्रममा समय खर्चिए । त्यो पनि डडेलधुरा कांग्रेसको बैठकका लागि ।

उनी यो बीचमा डडेलधुराको नवदुर्गा गाउँपालिका सहित विभिन्न स्थानमा भएका मठमन्दिर र जात्रामा सहभागी भइरहेका छन् ।

गृहजिल्लामा देउवाले राजनीतिक भेटघाटलाई भन्दा पनि धार्मिक तथा सांस्कृति कार्यक्रमलाई प्राथमिकता दिएको गन्यापधुरा गाउँपालिका अध्यक्ष ईन्द्रबहादुर कार्कीले वडापालिकालाई जानकारी दिए । 

शुक्रबार उनी डडेल्धुरा पुगेको पाँच दिन भयो । यो बीचमा जिल्लामा भएका विभिन्न धार्मिक तथा सांस्कृतिक मेला र कार्यक्रममा देउवा सहभागी भएको अध्यक्ष कार्कीले जानकारी दिए । 

deuba-(2)-1731669414.jpg
‘उहाँ (देउवा) यहाँ आउनु भएको आज पाँच दिन भयो,’ उनले भने, ‘यो बीचमा उहाँ धार्मिक तथा सांस्कृति मेला र कार्यक्रममा मात्र सहभागी हुनुभयो ।’ सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध बडाल मेलामा पनि देउवा सभापति भएका छन् । सो मेलामा करिब ३० हजार मानिस सहभागी भएका गन्यापधुरा गाउँपालिका अध्यक्ष कार्कीले बताए । 

सभापति देउवा एक साता डडेल्धुरा बस्ने भएका छन् । शनिबार हुने उग्रतारा मेलामा सहभागी भएर आइतबार मात्र काठमाडौँ फर्कने अध्यक्ष कार्कीले बताए । 

‘उहाँ भोलि उग्रतारा मेलामा सहभागी हुने कार्यक्रम छ,’ उनले भने, ‘त्यसपछि पर्सी मात्र उहाँ काठमाडौँ फर्कने तयारी छ ।’ सभापति देउवा आफ्नो गृहजिल्ला डडेल्धुरा यति लामो समय बसेको धेरैपछि पहिलोपल्ट हो । आफूलाई थाहा पाएदेखि सभापति देउवा यति लामो समय डडेल्धुरा बसेको पहिलोपटक रहेको उनले बताए । 

deuba-(3)-1731669414.jpg
कांग्रेसबाट गन्यापधुरा गाउँपालिका अध्यक्षमा जितेका ईन्द्रबहादुर कार्कीले भने, ‘मैले थाहा पाएदेखि, मलाई थाहा भएअनुसार उहाँ एक साता लामो यहाँ (डडेल्धुरा) बसेको यो पहिलोपटक हो ।’ केही जनप्रतिनिधिले आफ्नो क्षेत्रको विकास निर्माणका विषयमा ध्यानाकर्षण गराउनेबाहेक राजनीतिक गतिविधि नभएको र देउवा पनि सहभागी नभएको अध्यक्ष कार्कीको भनाइ छ । अहिले सामाजिक सञ्जालमा देखिएका देउवाविरुद्ध नाराबाजी भएको भिडियो अहिलेको नभएको उनले बताए ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  १७:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update