मोरङ । आउँदो १६ गते हुने उपनिर्वाचनका लागि मोरङको ग्रामथान गाउँपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
ग्रामथान गाउँपालिकाको कार्यालयमा रहनेगरी मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । शुक्रबार कार्यालयको उद्घाटनपछि मुख्य निर्वाचन अधिकृत जिल्ला अदालत मोरङका न्यायाधीश उद्ववप्रसाद भट्टराईले सर्वदलीय छलफल गरेका छन् ।
निर्वाचन स्वच्छ र भयरहित रूपमा सम्पन्न गर्न राजनीतिक दलको भूमिका महत्वपूर्ण हुने उनले बताएपछि राजनीतिक दलका प्रतिनिधिहरुले भयरहित निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारको गत असार ३ गते निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।
आउँदो मंसिर १६ गते स्थानीय तहका रिक्त ४४ पदपूर्तिका लागि हुने उपनिर्वाचनको मंसिर २ गते उम्मेदवार मनोनयन दर्ताको कार्यक्रम छ ।