काठमाडौँ । स्थानीय तह उपनिर्वाचनमा काठमाडौँमा हुने २ स्थानमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले तालमेल गरेर उम्मेदवारी दिने भएका छन् ।
आज माअोवादीका तर्फबाट अग्नि सापकोटा र नेकपा एसका तर्फबाट राजेन्द्र पाण्डेले तालमेल गर्ने एउटा सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर र काठमाडौं महानगरपालिका वडा नं १६ को अध्यक्षमा तालमेल गर्ने सहमति छ ।
कीर्तिपुरको मेयरमा माओवादी केन्द्रका उम्मेदवार प्राडा। शिवशरण महर्जनलाई नेकपा एकीकृत समाजवादीले सघाउनेछ भने काठमाडौं महानगरको १६ नम्बर वडाध्यक्षमा नेकपा एसका मीनबहादुर मानन्धरलाई माओवादीले सघाउनेछ ।
कीर्तिपुरमा मेयरसँगै वडा नं १ र ४ को अध्यक्षको पनि उपनिर्वाचन हुँदैछ । जसमा माओवादीले दुईवटै वडामा उम्मेदवारी घोषणा गरिसकेको छ भने एकीकृत समाजवादीले वडा नम्बर ४ मा मात्रै उम्मेदवारी टुंग्याएको छ ।
माओवादीले वडा नम्बर १ अध्यक्षमा अष्टमान महर्जन र वडा नम्बर ४ अध्यक्षमा इन्जिनियर नारायण विष्टलाई उम्मेदवार बनाएको छ भने एकीकृत समाजवादीले वडा नम्बर ४ मा रीता खड्कालाई उम्मेदवार घोषणा गरेको छ ।
उनीहरुले आज मनोनयन गर्ने र तालमेल भएका स्थानमा दुबै पाटृिका नेताहरु प्रस्तावक र समर्थक बस्ने सहमति छ ।