Odapalika - The Fourth Estate - चौथो अंग
ओखलढुंगा र कैलासी जिसस सभापतिमा कांग्रेस निश्चित

काठमाडौँ । ओखलढुंगा र कैलासी जिल्ला समन्वय समितिको सभापतिमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित हुने निश्चित जस्तै भएको छ ।

आगामी १६ मंसिर उपनिर्वाचन हुने भएपनि ती दुई जिल्लाको मतपरिणाम हेर्दा कांग्रेस उम्मेदवार विजयी हुने निश्चित देखिएको हो ।

पहिला कुरा गरौं ओखलढुंगा जिसस सभापतिको । यो जिल्लामा कांग्रेस एक्लैको बहुमत छ । जम्मा ८ पालिका रहेको ओखलढुंगामा कांग्रेससँग ९ जना पालिका पदाधिकारी छन् । कांग्रेसका ८ जना पालिका पदाधिकारी विजयी भएपनि एक जना स्वतन्त्र पदाधिकारी पनि कांग्रेसतिरै लागेसँगै उसको मत ९ पुगेको हो ।

ओखलढुंगामा एमालेसँग ५ जना पालिका पदाधिकारी छन् । सो जिल्लाको जिसस सभापतिमा एमालेले कांग्रेस उम्मेदवारलाई सघाउने भएको छ । कांग्रेस आफ्नै बहुमत र दोस्रो धेरै मत भएको एमालेले पनि कांग्रेसलाई सघाउने भएपछि सो जिल्लामा कांग्रेस उम्मेदवार निर्वाचित हुने निश्चित भएको हो । ओखलढुंगामा माओवादी केन्द्र र जनता समाजबादी पार्टीका एक एक जना पालिका पदाधिकारी छन् । जिसस सभापतिमा पालिकाका अध्यक्ष तथा उपाध्यक्ष वा मेयर उपमेयरले मतदान गर्न पाउँछन् ।

ओखलढुंगामा यसअघि पनि कांग्रेसकै उम्मेदवार जिसस सभापति थिए । २०७९ को चुनावबाट डिल्लीराम खनाल जिसस सभापति निर्वाचित भएका थिए । सभापति खनालको निधन भएकोले सो स्थानमा उपनिर्वाचन हुन लागेको हो । ओखलढुंगाको जिसस सभापतिमा कांग्रेसले टेकराज भट्टराईलाई उम्मेदवार बनाएको छ ।

अब कैलासीको कुरा गरौं । यो जिल्लाको जिसस सभापतिमा पनि एमालेले कांग्रेसलाई सघाएको छ । कैलालीमा भने कांग्रेसको बहुमत छैन । गत स्थानीय तह निर्वाचनमा कैलासीमा कांग्रेसले एक मतको अन्तरले जिसस सभापति जितेको थियो । 

कैलालीमा १३ पालिका छन् । यसमध्ये कांग्रेसका ८ र एमालेका ५ जना पालिका पदाधिकारी छन् । प्राविधिक रुपमा यो संख्या बहुमत हो । किनभने टीकापुर नगरपालिकाका उपमेयर खडकबहादुर शाह निलम्बनमा छन् । उनी माओवादी केन्द्रका हुन् । निलम्बनमा परेका शाहले मतदान गर्न नपाउने भएपछि कांग्रेस एमालेको बहुमत पुगेको हो ।

कैलालीमा कांग्रेस उम्मेदवारको विपक्षमा नागरिक उन्मुक्ति पार्टीका ७, माओवादी ३ र एकीकृत समाजवादी १ पालिका पदाधिकारी छन् । अहिले नागरिक उन्मुक्ति पार्टी पनि सत्ता गठबन्धनमा छ ।

गत स्थानीय तह निर्वाचनमा ७ जना पालिका पदाधिकारी रहेको नागरिक उन्मुक्ति पार्टीले कांग्रेससँग प्रतिस्पर्धा गरेको थियो । एमालेको ५ पदाधिकारीको मत पनि नागरिक उन्मुक्ति पार्टीका इन्द्र चौधरीले पाएका थिए । यसो हुँदा कैलाली जिससमा नागरिक उन्मुक्ति पार्टीका चौधरीले १२ मत पाएका थिए ।

गत निर्वाचनमा कैलाली जिससमा कांग्रेस उम्मेदवार पदमबहादुर कलेल १३ मत पाएर विजयी भएका थिए । उनलाई धनगढी उपमहानगरपालिकाका मेयर गोपी हमालले पनि मत दिएका थिए । आगामी १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनमा कैलाली जिसस सभापतिमा कांग्रेसले टीका चौधरीलाई उम्मेदवार बनाएको छ । उनको जीत निश्चित जस्तै देखिएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  १७:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update