Odapalika - The Fourth Estate - चौथो अंग
भरतपुर महानगरवासीलाई सिएमसी अस्पतालमा ५० प्रतिशतसम्म छुट 

काठमाडौँ ।  भरतपुर महानगरपािलकाभित्रका नागरिकलाई चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा ३० देखि ५० प्रतिशतसम्म छुट हुने भएको छ । भरतपुर महानगरपालिका र चितवन मेडिकल कलेजबीच यससम्बन्धी सम्झौता भएको हो । 

सम्झौताअनुसार भरतपुर महानगरवासीले ‘होल बडी चेकअप’मा ५० प्रतिशत, अन्य सम्पूर्ण उपचारमा ३० प्रतिशत र अस्पतालको फार्मेसीमा ७ प्रतिशत छुट पाउनेछन् । अस्पतालले बजारबाट खरिद गरेका सामानमा भने छुट सुविधा नदिने सम्झौतामा उल्लेख छ । 

सम्झौतामा चितवन मेडिकल कलेजका प्रमुख प्रशासक प्रताप देवकोटा र महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले हस्ताक्षर गरेका छन् । । महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र चितवन मेडिकल कलेजका अध्यक्ष प्रा डा हरिश्चन्द्र न्यौपाने र सिएमसी फार्मेसीका सरोजप्रसाद ज्ञवाली साक्षी छन् ।

छुट सुविधा लिनका लागि महानगरले उपचार कार्ड उपलब्ध गराउनेछ । यो कार्ड तयार नहुँदासम्म महानगरको सिफारिसका आधारमा छुट सुविधा पाइनेछ । स्वास्थ्य बिमा, विपन्न र मेडिकल लिगल केसमा भने महानगरवासीले छुटको दाबी गर्न पाउने छैनन् । महानगरले आयोजना गर्ने स्वास्थ्यसम्बन्धी कुनै कार्यक्रमहरू भएमा आवश्यक स्वास्थ्यसम्बन्धी जनशक्ति अस्पतालले उपलब्ध गराउने सम्झौतामा जनाइएको छ । 

शिक्षण अस्पतालको भगिनी संस्था सिएमसि क्यान्सर इन्स्टिच्यूटमा सञ्चालित सिटिइभिटीको पढाइमा विद्यार्थीहरूलाई १० प्रतिशत छुटका लागि महानगरले सिफारिस गर्न सक्ने जनाइएको छ । महानगरले आफ्नो कार्यालय परिसरमा सबैले स्पष्ट देखिने ठाउँमा कम्तीमा पनि ४ बाई ६ फिटको बोर्डमा दुवै पक्षबीच भएको सम्झौताको जानकारी राख्नुपर्नेछ ।     यो सेवा मङ्सिर २ गतेदेखि २०८२ मङ्सिर १ गतेसम्म लागू हुनेछ । सम्झौतालाई पुनः नवीकरण गर्न सक्ने प्रावधान राखिएको छ । 

प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  ०८:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update