Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय तह उपनिर्वाचन उम्मेदवार : महिला १६ प्रतिशत, स्वतन्त्र ३० प्रतिशत 

काठमाडौँ । स्थानीय तह उपनिर्वाचनका लागि ४०७ जनाको उम्मेदवारी परेको छ । यही मंसिर १६ गते हुने ४४ उपनिर्वाचनका लागि आइतबार (हिजो) उम्मेदवार मनोनयन दर्ताको कार्यक्रम थियो । यही मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन हुँदै छ । 

दुई जिल्ला विकास समन्वय समिति प्रमुखबाहेक ४२ पदमा ४०७ उम्मेदवारको मनोनयन दर्ता भएको छ । गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक गरी आठ पदका लागि ८४ उम्मेदवार परेका छन् । जसमध्ये महिला ३५, पुरुष ४८ र अन्य एक गरी ८४ जनाको उम्मेदवारको मनोनयन दर्ता भएको निर्वाचन आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् । वडाध्यक्षको ३४ पदका लागि २९ महिला, २९३ पुरुष र अन्य एक गरी ३२३ जनाको उम्मेदवारी परेको उनले बताइन् । 

गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख, उप्रमुख र वडाध्यक्ष गरी ४२ पदका लागि ४०७ उम्मेदवारले मनोनयन दर्ता गरे । जसमध्ये महिलाको उम्मेदवारको संख्या ६४ रहेको छ । यो कुल उम्मेदवारको १५.७३ प्रतिशत हो । 

यसैगरी, ४०७ जना उम्मेदवारमध्ये २८६ जना राजनीतिक दलबाट उम्मेदवारी दर्ता भएको छ । साथै ४०७ मध्ये १२१ स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ता भएको हो । यो कुल उम्मेदवारको २९.७३ प्रतिशत हो । 

सबैभन्दा बढी धनुषामा, कम रुकुमपूर्व

उम्मेदवारको मनोनयन पत्र दर्ता भएकामध्ये सबैभन्दा धेरै धनुषाको धनुषाधाम नगरपालिका वडा नं १ को वडा अध्यक्ष पदमा २१ जना र सबैभन्दा कम रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नं. २ को वडा अध्यक्ष पद र अझाङको सुर्मा गाउँपालिका वडा नं. ४ को वडा अध्यक्ष पदमा ३/३ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  १२:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update