Odapalika - The Fourth Estate - चौथो अंग
माओवादीले कार्यविधि बनाएर मात्र स्थानीय तहका सम्मेलन गर्ने 

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पालिका सम्मेलनका लागि कार्यविधि बनाउन कार्यदल बनाउने निर्णय गरेको छ ।  

मंगलबार खुमलटारमा बसेको पार्टी बैठकले कार्यविधि बनाउनका लागि कार्यदल बनाउने निर्णय गरेको पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन् । 

उनले भने, ‘आजको बैठक संक्षिप्त भयो धेरै एजेण्डा पनि भएन, पहिलो एजेण्डा कार्यविधि बनाउने थियो, अस्ति हामीले पालिका सम्मेलन र खबरदारी सभा एकै साथ गर्ने भन्ने निर्णय गरेका थियौं । त्यो पालिका सम्मेलनका लागि विधान त पास भई सकेको हो । त्यसको लागि कार्य विधि चाहिन्छ कार्यविधि बनाउनका लागि कार्यदल बनेको छ ।’

यसको साथै, उनले बैठकमा उपचुनावको बारेमा देशभरको रिपोर्टहरु लिएको भन्दै अहिलेसम्म सबै सकारात्मक नै रहेको बताए । 

उनले भने, ‘दोस्रो कुरा भनेको उपचुनाव छ, त्यसको देशभरको रिपोर्टहरु लिइएको छ । अहिले सम्म सकारात्मक नै छ भन्ने छ । कतिपय ठाँउमा सुनिश्चित जस्तै छ । बागमतीको दोलखादेखि काठमाडौं सम्मको सबै राम्रो छ भन्ने रिपोर्ट भएको छ ।’ 

यसको साथै छिटै पार्टीको अर्को बैठक बस्ने पनि उनको भनाई छ ।  


 

प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  ०७:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update