काठमाडौँ । निर्वाचन आयोगले आसन्न स्थानीय तह उपनिर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्दै छ ।
यही मंसिर १६ गते हुने उपनिर्वाचनका लागि मंसिर २ गते मनोनयन दर्ता गराएका उम्मेदवारहरूको बुधबार अन्तिम नामावली प्रकाश गर्न लागिएको हो ।
दुई जिल्ला समन्वय प्रमुखबाहेक गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षको ४२ पदका लागि ४०७ जनाको उम्मेदवारी दर्ता भएको छ ।
उम्मेदवारको अन्तिम नामावली प्रकाशनअघि बुधबार नै उम्मेदवारी फिर्ता लिने कार्यक्रम छ । त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई बुधबार अपरान्ह ३ बजेदेखि ५ बजेसम्म निर्वाचन चिह्नसमेत प्रदान गरिने आयोगले जनाएको छ ।