Odapalika - The Fourth Estate - चौथो अंग
गभर्नर अधिकारीले दिए भारतीय प्रधानमन्त्री मोदीलाई खोटो सिक्का उपहार, दिल्लीको चासोपछि काजमा कर्मचारी पठाएर ल्याइयो फिर्ता

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई खोटो सिक्का उपहार दिएको खुलासा भएको छ ।

गभर्नर अधिकारीले भारतको केन्द्रीय बैंकका गभर्नर शक्तिकान्त दासमार्फत पठाएको उपहार नै खोटो सिक्का भएको खुलेको हो । गभर्नर अधिकारीले भारतका गभर्नर दासमार्फत भारतका प्रधानमन्त्री मोदीलाई गत असोज ८ गते नेपालको टक्सार विभागले टंकण गरेका गाईको चिन्ह अंकित दुई थान चाँदीका सिक्का उपहार पठाएका थिए । 

गभर्नर अधिकारीले पठाएको सो उपहार भारतका प्रधानमन्त्री मोदीलाई हस्तान्तरण गर्ने क्रममा खोटो सिक्का रहेको पाइएपछि रहस्य खुलेको हो ।

गभर्नर अधिकारीले पठाएको उपहार खोटो सिक्का भएको पाइएपछि भारतीय पक्षले नेपाल राष्ट्र बैंकलाई सो विषय जानकारी गराएको थियो । आफूले उपहार दिएको सिक्का नै खोटो भएको थाहा पाएपछि नेपाल राष्ट्र बैंकले गभर्नर कार्यालयमा कार्यरत उपनिर्देशक स्वेच्छा शाक्यकलाई काजमा भारत भ्रमण पठाएर सो खोटो सिक्का फिर्ता लिदै नयाँ सिक्का प्रदान गरेको थियो ।

घटना विवरण 

नेपाल राष्ट्र बैंकले गत असोज ८ गते नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर जवराको सम्मानमा हायत रिजेन्सी होटलमा एउटा गोष्ठी आयोजना गरेको थियो । सो गोष्ठीमा भारतको केन्द्रीय बैंकका गभर्नर शक्तिकान्त दासले ‘फस्ट हिमालय शमशेर मेमोरियल लेक्चर अन सेन्ट्रल बैंकिङ इन द ट्वेन्टीफस्ट सेन्चुरीः चेन्जिङ प्याराडाइम’ विषयमा प्रवचन दिएका थिए । 

कार्यक्रम र दिवाखानापछि दिउसो करिब २ बजे नेपाल र भारतका गभर्नरहरुले नेपाल राष्ट्र बैंकको गभर्नर कार्यालय वालुवाटारमा छलफल गरेका थिए । छलफलको विषय सीमा वारपार हुने भुक्तानी पद्दतीलाई आगामी दिनमा अझ सहज र सरल बनाउन दुवैतर्फबाट उपयुक्त डिजिटल उपकरण सञ्चालन गर्ने सम्बन्धमा थियो ।

सो छलफलमा भारतीय रिजर्भ बैंकका तर्फबाट गभर्नर दासका अतिरिक्त गुनवीर सिंह, सत्यशिव पाणिग्रही र मेजर यशपाल सिंह चरण तथा नेपाल राष्ट्र बैंकका तर्फबाट गभर्नर अधिकारी, डेपुटी गभर्नरहरु निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र तथा राष्ट्र बैंकका कार्यकारी निर्देशकद्वय नेफिल माताङ्गि मास्के र विनोदराज आचार्य, निर्देशकहरु निश्चल अधिकारी र डिल्लीराम पोखरेल तथा उपनिर्देशक स्वेच्छा शाक्य उपस्थित थिए ।

Indian-governor-at-NRB-1732084965.jpg
सो छलफल लगत्तै भारतका गभर्नर दासले नेपालका गभर्नर अधिकारीलाई महात्मा गान्धी अंकित सिक्का प्रदान गरेका थिए भने गभर्नर अधिकारीले पनि गभर्नर दासलाई नेपालको टक्सारबाट टंकण गरिएका गाई अंकित २ थान चाँदीका सिक्कासहितको सानो निलो सन्दुक सहित उपहार दिएका थिए ।

गभर्नर अधिकारीले भारतका गभर्नर दासमार्फत भारतका प्रधानमन्त्री मोदीलाई पनि उपहार पठाए । गभर्नर अधिकारीले गभर्नर दासलाई दिएकै स्वरुपको निलो रंगको सानो सन्दुकभित्र आफ्नो भिजिटिङ्ग कार्डसमेत राखेर गभर्नर दासमार्फत भारतीय प्रधानमन्त्री मोदीलाई उक्त गाई अंकित सिक्काहरु उपहार पठाए ।

स्रोतका अनुसार त्यसरी सन्दुकमा राखी उपहारस्वरुप भारत पठाइएका सिक्का खोटा र स्वरुप विग्रेका भन्ने जानकारी भारतीय पक्षले नेपाल राष्ट्र बैंकलाई पठायो । यो जानकारी पाएपछि गभर्नर कार्यालयका उपनिर्देशक स्वेच्छा शाक्यलाई तत्काल भारत भ्रमण काजमा खटाई निज मार्फत उक्त खोटा र स्वरुप विग्रेका सिक्काको बदलामा नयाँ सिक्काहरु प्रदान गरिएको हो ।

भएको के हो ?

सो सिक्का गभर्नर कार्यालयले टक्सार विभागबाट उपहार शीर्षकमा खरिद गरेको थियो । खरिद गरिएका सिक्का राम्रो अवस्थाका थिए । तर, सिक्का राख्नको लागि बनाइएको सन्दुकको साइज सानो भएपछि कोचेर राख्ने क्रममा सिक्काको आकार विग्रिएको बताइएको छ । सो सन्दुक डल्लुमा रहेको अनिल शाक्यको शाक्य अर्नामेन्टले बनाएको थियो ।

प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  १२:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update