
काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषद्ले स्थानीय तहको उपनिर्वाचनमा नेपाली सेना परिचालर्ने विधि अवलम्बन गर्न सिफारिस गरेको छ ।
३३ जिल्लाका स्थानीय तहमा रिक्त ४४ पदका लागि यही मंसिर १६ गते उपनिर्वाचन हुँदै छ । उपनिर्वाचनमा नेपाली सेना परिचालनका लागि अपनाउनुपर्ने विधि अवलम्बन गर्न मंगलबार बसेको परिषद् बैठकले मन्त्रिपरिषद्मा सिफारिस गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षमा बसेको परिषद् बैठकले स्थानीय तहको उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सेनाको परिचालनसम्बन्धी विधि मन्त्रिपरिषद्मा पठाउन सिफारिस गरेको हो ।
नेपालको संविधान २०७२ को धारा २६६ को उपधारा १ मा मुलुकको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षासम्बन्धी नीति तर्जुमा गर्न तथा नेपाली सेनाको परिचालन गर्नका लागि राष्ट्रिय सुरक्षा परिषद्ले मन्त्रिपरिषद्लाई सिफारिस गर्नुपर्ने व्यवस्था छ ।