काठमाडौँ । नेकपा माओवादी केन्द्रले स्थानीय तह उपनिर्वाचनमा जितको खाता खोलेको छ । माओवादीले रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाबाट जितको खाता खोलेको हो ।
यही मंसिर १६ गते हुने उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारले मनोनयन दर्ता गराएका थिए । बुधबार ईच्छुक उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन समय दिएको छ । यही समयमा नेकपा एमाले र स्वतन्त्र उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै माओवादीका उम्मेदवार जगत घर्ती पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को वडाध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
एमालेका उम्मेदवार जीवन रोका र स्वतन्त्र उम्मेदवार शुक्र विकले उम्मेदवारी फिर्ता लिएकाले जगत घर्ती वडा नम्बर २ को वडाध्यक्षमा निर्विरोध निर्वाचित भएका पुथा उत्तरगंगा गाउँपालिका अध्यक्ष पुनीराज घर्तीले जानकारी दिए । ‘एमालेका उम्मेदवार र स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि घर्ती निर्विरोध निर्वाचित भएका हुन्,’ अध्यक्ष पुनीराजले बताए ।
यसको औचारिक रुपमा घोषणा हुने भने बाँकी छ ।
उम्मेदवारहरूको बुधबार नै अन्तिम नामावली प्रकाश गर्ने र उनीहरुलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले बताइन् ।
दुई जिल्ला समन्वय प्रमुखबाहेक गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षको ४२ पदका लागि ४०७ जनाको उम्मेदवारी दर्ता भएको छ ।