Odapalika - The Fourth Estate - चौथो अंग
राप्ती र खैरहनी नगरपालिका अब ‘मिल्क जोन’ 

काठमाडौँ । चितवनका राप्ती र खैरहनी नगरपालिकालाई  ‘मिल्क जोन’ घोषणा गरिएको छ । पशु सेवा कार्यालयले खैरहनीका १० वडा र राप्तीका ८ वटा वडालाई समावेश गरेर दूध जोन कार्यक्रम लागू गरेको हो ।

दैनिक १० लिटर वा सोभन्दा माथि दूध उत्पादन गर्ने निजी फार्म तथा साझेदार संस्थाले अनिर्वाय रुपमा पशु बीमा गरेको हुनुपर्ने गरी कार्यक्रम लागू गरिएको हो । जोन कार्यक्रम लागू हुनका लागि दैनिक ३० हजार लिटर दूध उत्पादन हुने क्षेत्र हुनुपर्ने हुन्छ ।

कार्यक्रम लागू भएका वडाबाट हाल ४६ हजार १०३ लिटर दूध उत्पादन हुँदै आएको छ । जोन कार्यक्रमअन्तर्गत एक किसानले अधिकतम  ७५ हजार अनुदान पाउनेछन् । जोन कार्यक्रममा ३० जना किसान सहभागी छन् । गत वर्षसमेत यो कार्यक्रम खैरहनी र राप्ती नगरपालिकामा लागू भएको थियो ।

गत वर्ष भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकामा दूध जोन कार्यक्रम लागू गरिएको थियो । यस कार्यक्रममा सहभागी हुने कृषकले व्यवसाय दर्ता, दूध उत्पादनको सहकारीमार्फत प्रमाणित गर्नेलगायत प्रक्रिया पूरा गरेपछि गाई खरिदका लागि ७५ हजार रुपैयाँ अनुदान दिइदै आएको छ ।

    
 

प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  १३:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update