काठमाडौँ । रुकुम पूर्वको पुथा उत्तरगंगाको उपाध्यक्ष पदमा उम्मेदवारी दिएको नेकपा एकीकृत समाजवादी पछि हटेको छ । नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्ने सहमति गर्दै एकीकृत समाजवादीले आफ्नो उम्मेदवारी फिर्ता लिएको हो ।
जिसस प्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नगरपालिका प्रमुख र उपप्रमुख तथा वडाध्यक्षको रिक्त ४४ पदमा ४१० जनाले यही मंसिर २ गते उम्मेदवारी दर्ता गराएका थिए । बुधबार उम्मेदवारीलाई मनोनयन फिर्ता लिने समय दिइएको थियो ।
सोही समयमा रुकुम पूर्वको पुथा उत्तरगंगाको उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी एकीकृत समाजवादीकी सुनिता बुढामगरले उम्मेदवारी फिर्ता लिएकी हुन् । उनले माओवादीकी उम्मेदवार नरपुरा बुढालाई समर्थन गर्ने गरी आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन् ।
पुथा उत्तरगंगाको उपाध्यक्ष पदमा सातजनाले उम्मेदवारी दर्ता गराएका थिए । एमालेबाट केशकुमारी तुलाचनले उम्मेदवारी दिएकी छन् । उनलाई कांग्रेसले समर्थन जनाएको छ ।
स्वतन्त्रबाट भीमकुमारी पुन, कोपिला पुन, श्रीदेवी सुनार र मोहनभक्त बुढाले उम्मेदवारी दिएका छन् ।