काठमाडौँ । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष पदमा उम्मेदवारी दिएका पाँचजनाले फिर्ता लिएसँगै अब एमाले र माओवादी केन्द्रबीच प्रतिस्पर्धा हुने भएको छ ।
यही मंसिर २ गते आइतबार उपाध्यक्ष पदका लागि सातजनाले उम्मेदवारी दिएका थिए । तर, बुधबार पाँचजना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै एमाले र माओवादीका उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको हो ।
बुधबार नेकपा एकीकृत समाजवादीकी सुनिता बुढा, स्वतन्त्रतर्फका मोहनभक्त बुढा, श्रीदेवी सुनार विक, भिमकुमारी पुन मगर र कोपिला बुढा पुनले आ–आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । अब प्रतिस्पर्धामा नेकपा एमालेकी केशकुमार तुलाचन र माओवादी केन्द्रकी उम्मेदवार नरपूरा बुढाबीच हुने भएको छ । तुलाचनलाई कांग्रेसको समर्थन छ भने बुढालाई एकीकृत समाजवादीले सघाउने भएको छ ।
पुथा उत्तरगंगा गाउँपालिका वडा नं. २ को वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् ।
जिसस प्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नगरपालिका प्रमुख र उपप्रमुख तथा वडाध्यक्षको रिक्त ४४ पदपूर्ति गर्न यही मंसिर १६ गते उपनिर्वाचन हुन लागेको हो ।