काठमाडौँ । सिरहाको गोलबजार नगरपालिकाले प्रति कट्ठा ५ रुपैयाँ लाग्ने भूमिकरमा अचाकली वृद्धि गरी प्रतिकट्ठा ४०० रुपैयाँ बनाएको भन्दै भूमि कर पूर्ववत अवस्थामा फर्काउन माग गर्दै नेकपा माओवादी केन्द्रले धर्ना दिएको छ ।
आर्थिक मन्दीका कारण किसानको ढाड सेकिएको बेला ४०० प्रतिशतले भूमि कर वृद्धि गर्नु न्यायसंगत नभएको भन्दै भूमिकर पूर्ववत अवस्थामा नफर्काएसम्म सम्झौताविहीन आन्दोलन गर्ने आन्दोलनकारी उमेश बरालले जानकारी दिएका छन् ।
नगर कार्यपालिकाको कार्यालय अगाडि विहीबार बिहान ११ बजेखि १२ बजेसम्म शान्तिपूर्ण धर्नामा बसेका माओवादी नेता तथा कार्यकर्ताहरुले कर वृद्धिको विरोध स्वरुप पाखुरामा कालोपट्टी बाँधेका थिए ।
धर्ना स्थलमा बसेका नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले गोलबजार नगरपालिकामा फर्जी कर्मचारीको नाममा लाखौंलाख रकम तलव निकासा दिइएको आरोप लगाइएको छ ।
त्यसैगरी विपद् व्यवस्थापनको नाममा करोडौंैं रकम अनियमितता गरिएको र नागरिकले सूचना माग्दा नदिएकोले नगरपालिका अपारदर्शी रहेको आरोप पनि लगाए । धर्नाकारीहरुले आर्थिक वर्ष २०८०/०८१ र २०८१/८२ को हालसम्मको खर्च पारदर्शी गर्न तथा सूचना दिन माग गरेका छन् ।
माओवादी केन्द्रका मजदुर नेता रामपुकार कामतीले भने फर्जी कर्मचारी खडा गरी लाखौ रकम अपचलन भएकोले त्यसको सम्पूर्ण हरहिसाव सार्वजनिक नभएसम्म आन्दोलन जारी रहने बताए ।
नेकपा माओवादी केन्द्र गोलबजार संघर्ष समितिले एक प्रेस विज्ञप्ति जारी गरी आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो । घोषित कार्यक्रम अनुसार आगामी मंसिर ९ गते सिटी जुलुस प्रदर्शन र ११ गते नगर प्रमुख, उप प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा एक घण्टा रोक लगाउने संघर्षको कार्यक्रम सार्वजनिक गरिएको छ ।