काठमाडौँ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा छात्रा बचत खाता कार्यक्रम सुरु भएको छ । गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालक्षित ‘छात्रा बचत खाता’ कार्यक्रम सुरु गरेको हो ।
आँबुखैरेनी गाउँपालिका–३ स्थित रामशाह माध्यमिक विद्यालयबाट यो कार्यक्रम सुरु गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । यो कार्यक्रम पालिकाभित्रका सबै सामुदायिक विद्यालयमा क्रमशः सञ्चालन गरिने चुमानको भनाइ छ । गाउँपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार पहिलोपटक छात्रा बचत कार्यक्रम सुरु गरिएको हो ।
रामशाह माविमा एक हजार आठ सय विद्यार्थी अध्ययनरन छन् । त्यसमध्ये एक हजार एक सय छात्रा छन् । पालिकाले कक्षा १० सम्म अध्ययनरत छात्रालाई एक हजार रुपैयाँ बचत मौज्दातसहित निःशुल्क बाल बचत खाता खोलिदिने चुमानले बताए । सानैदेखि बचत गर्नुपर्छ भन्ने भावना विकास गर्न यो कार्यक्रम ल्याइएको उनको भनाई छ ।
गाउँपालिकाका शिक्षा शाखा प्रमुख निर्मला कुँवरले रामशाह माविबाट सुरु भएको यो कार्यक्रम सबै वडाका सामुदायिक विद्यालयमा सञ्चालन गरिनेछ । गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा दुई हजार पाँच सय छात्रा अध्ययनरत छन् । विद्यार्थीको खाता कुमारी बैंकसँगको समन्वयमा खोलिनेछ । उक्त खातामा प्रतिविद्यार्थी रु एक हजार गाउँपालिकाले बचत गरिदिनेछ । सोबापत कुमारी बैंकले रु २) बजार बराबरको स्वास्थ्य बीमाको सुविधा दिनेछ ।
यसअघि गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी, शिक्षकका छोराछोरी सरकारी विद्यालयमा पढाउनुपर्ने निर्णय गरिसकेको छ । गाउँपालिकाले सामुदायिक विद्यालयको शिक्षा रुपान्तरणलाई अभियानकै रूपमा अगाडि बढाएको छ ।
आँबुखैरेनी गाउँपालिकाका ६ वटा वडामा ३५ सामुदायिक विद्यालय छन् । ती विद्यालयमा करिब चार हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । गाउँपालिकाले सामुदायिक विद्यालयमा पढाउने परिवारलाई कर छुट दिने नीति पनि ल्याएको छ । त्यस्तै सामुदायिक विद्यालयमा छोराछोरी पढाउने वडा नम्बर ४, ५ र ६ का परिवारका लागि पालिकाले निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गर्ने तयारी छ ।