Odapalika - The Fourth Estate - चौथो अंग
नेपाल आर्थिक संघ र अर्थ मन्त्रालयबीच भेटघाट, देशको आर्थिक अवस्थाबारे गम्भीर छलफल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपाल आर्थिक संघबीच नेपालको विद्यमान आर्थिक अवस्थाबारे लेखाजोखा गर्ने तथा आगामी दिनमा देशको अर्थतन्त्रको लागि दिगो रुपमा संचालन गर्न विभिन्न उपायहरूको खोजि गर्ने सम्बन्धमा छलफल भएको छ ।

मन्त्री पौडेल र संघबीच मन्त्रालयमा छलफल भएको हो ।  संघ र अर्थ मन्त्रालयबीच धेरै वर्षदेखि अर्थतन्त्रसँग सम्बन्धित विषयमा विविध विषयमा सहकार्य हुँदै आएको र आगामी दिनमा पनि अर्थतन्त्रलाई सही दिशामा अगाडि बढाउन नेपाल आर्थिक संघ तयार रहेको अध्यक्ष प्राडा विश्वम्भर प्याकुर्‍यालले बताए ।

संघले बेला बेलामा विभिन्न विषयमा सरकारलाई स्वतन्त्र रूपले सुझाव सल्लाह दिदै आएको र आजको आवश्यकतालाई मध्यनजर गरेर, संघीयतहका साथै प्रदेश तहमा पनि समसामयिक आर्थिक मुद्दाहरुमा बुद्धिजिबी, नीजी क्षेत्र र सरकारको धारणा तथा राज्यले खेल्नु पर्ने भूमिकाका बारेमा जानकारी दिन अर्थ मन्त्रालयसँग कार्यक्रम अगाडि बढाउन सकिने अध्यक्ष प्राडा  प्याकुर्‍यालले बताए ।

नेपालको एकमात्र राष्ट्रिय तहको अर्थशास्त्रीहरूको छाता संगठन भएकोले नेपाल आर्थिक संघले गरेका अध्ययन र अनुसन्धान उत्पादकत्वसँग लिङ्क हुने हुनाले र दिगो रुपमा कार्यान्यन गर्न सकिने हुँदा देशको वर्तमान आर्थिक अवस्था कुन मोडमा पुगेको छ भन्ने कुरा विभिन्न सरोकारवालाहरुसँग संवाद गरी अर्थ मन्त्रालयले सुरु गरेका आर्थिक सुधार साथै अन्य कार्यक्रमहरु प्रभावकारी रुपमा अगाडि बढाउन सहयोग पुग्ने उनको भनाइ छ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले भेटमा नेपाल आर्थिक संघ अर्थशास्त्रीहरूको छाता संगठन र अर्थतन्त्रसँग सम्बन्धित विषयमा पहिले पनि सहकार्य गरेको र उक्त संघ महत्वपूर्ण संस्था भएकोले सहकार्य गर्न असजिलो नहुने बताए ।

‘आजको अवस्थामा अर्थतन्त्रबारे सरोकारवालाहरुलाई वास्तविक अवस्थाको बारेमा जानकारी गराउनु राम्रो हो,’ मन्त्री पौडेलले भने ।

छलफलमा संघका उपाध्यक्ष प्राडा गोविन्द नेपाल, महासचिव डा गोपाल प्रसाद तिवारी, सचिव डा खोम खरेल, कार्यसमिति सदस्य अर्थविद केशव आचार्य, कार्यसमिति सदस्य प्राडा केशवराज खड्का, कार्यसमिति सदस्य डा यादवमणि घिमिरेलगायत अर्थशास्त्रीहरू सहभागी थिए ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update