Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय तह उपनिर्वाचन : जब माओवादीकी उम्मेदवार एमालेलाई भोट माग्दै हिँडिन् 

बाजुरा । देशका ३३ जिल्लाको स्थानीय तह उपनिर्वाचनमय बनिरहेको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन भइसकेको छ भने राजनीतिक दल आफ्ना उम्मेदवारको पक्षमा भोट माग्ने चुनावी कार्यक्रममा सक्रिय भइरहेका छन् । 

४४ पदका लागि तय गरिएको स्थानीय तह उपनिर्वाचनमा ३ जना निर्विरोध निर्वाचित भइसकेका छन् भने ४१ पदका लागि यही मंसिर १६ गते मतदान हुँदै छ । 

मंसिर २ गते ४१० जनाले उम्मेदवारी दर्ता गराएकोमा मंसिर ५ गते ३१ जनाले उम्मेदवारी फिर्ता लिए । अब ४१ पदका लागि चुनावी मैदानमा ३७३ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । 

माओवादी उम्मेदवारले एमालेलाई भोट मागिन्

केन्द्रीय राजनीतिमा अहिले एमाले सत्तापक्ष र माओवादी केन्द्र प्रमुख प्रतिपक्षी दल हो । उनीहरु छुट्टाछुट्टै राजनीतिक कार्यक्रम तय गरेर हिँडिरहेका छन् । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको साथ छाडेर एमाले कांग्रेसको समर्थनमा सरकार नेतृत्व गरेको छ । यसले पनि एमाले र माओवादीबीच दूरी बढाएको छ, केन्द्रीय राजनीतिमा । तर, यसविपरीत बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको उपनिर्वाचनमा देखिएको छ । स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदपूर्तिका लागि उपनिर्वाचन हुन लागेको हो । 

सो पदका लागि नेपाली का‌ंग्रेसबाट पुलतीसरा शाही, नेकपा एमालेबाट सुलोचना कुमारी भण्डारी बुढा, माओवादी केन्द्रबाट राजुकुमारी विक र एकीकृत समाजवादीबाट जवा शाहीले उम्मेदवारी दर्ता गराएकी थिइन् । 

अहिले चुनावी कार्यक्रममा माओवादी केन्द्रकी उम्मेदवार राजुकुमारी विक एमालेकी उम्मेदवार सुलोचनाकुमारी भण्डारीलाई भोट मागिरहेकी छन् । तर, उनले आफ्नो उम्मेदवारी फिर्ता लिएर एमालेकी उम्मेदवारलाई जिताउने गरी चुनावी कार्यक्रममा हिँडिरहेकी छन् । उनी एमालेको चुनावी सभामा पनि सहभागी भएकी छन् । 

एमालेले उनलाई उम्मेदवारी फिर्ता लिन लगाएर आफ्नो चुनावी कार्यक्रममा समेत लैजान सफल भएको हो । तर, कुन शर्तमा उनले उम्मेदवारी फिर्ता लिइन् भन्ने खुलिसकेको छैन । 

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  १२:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update