काठमाडौँ । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले गोमा लाभ सापकोटालाई सांसद पदबाट मुक्त गर्ने निर्णयलाई सभामुख देवराज घिमिरेले राजनीतिक पूर्वाग्राही भन्दै अस्वीकार गरेका छन् ।
जनमतले सापकोटालाई राजनैतिक दल सम्बन्धी ऐनअनुसार दलबाट निष्काशन गरी संघीय संसदको सदस्यको पद नरहने गरी सूचना प्रकाशन गर्न संघीय संसदमा निवेदन दिएको थियो । तर, जनमतले दाबी गरेजस्तो सांसद सापकोटाले पद नै जाने प्रकृतिको कुनै काम गरेको नदेखिएको भन्दै सभामुख घिमिरेले थप कारबाही प्रक्रिया नबढाउने निर्णय गरेको सभामुखमा प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।
उनका अनुसार जनमतले सापकोटामाथि कारबाहीका लागि तयार पारिएको कागजात विश्वसनीय नदेखिएकोले सभामुखले थप कारबाही अगाडि नबढाउने निर्णय गरेका हुन् ।
‘जनमत पार्टीले माननीय गोमा लाभ सापकोटालाई राजनैतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १८ लाई टेकी दलबाट निष्काशन गरी संघीय संसदको सदस्यको पद नरहने गरी सूचना प्रकाशन गर्न निवेदन गरेकोमा निजले पद नै जाने प्रकृतिको कुनै काम गरेको नदेखिएको, दलबाट निष्काशन गरी संघीय संसदको सदस्यको पद नरहने प्रकृतिको अन्य कुनै कानुनले परिभाषित गरेको कसुर गरेको भन्ने समेत नदेखिएको, कारबाहीको सम्बन्धमा तयार गरिएका कागजपत्रहरु विश्वसनीय नदेखिएकोले सभामुखले थप कारबाही अगाडि नबढाउने निर्णय गर्नुभएको छ,’ अधिकारीले जानकारी भने ।
जनमतको सापकोटामाथि कारबाही गर्ने निर्णयका सम्बन्धमा सभामुख घिमिरेले भने, ‘दलीय प्रणालीमा दलका नेता तथा कार्यकर्ताले आफ्नो दलको अनुशासन पालना गर्नुपर्नेमा कुनै द्विविधा छैन । तर, अनुशासनको नाममा कुनै सदस्यले स्पष्ट गल्ती गरेको नदेखिएको अवस्थामा पूर्वाग्रहपूर्ण तरिकाबाट कारबाही गर्ने र पदच्यूत गर्ने वातावरण सिर्जना भयो भने त्यसले लोकतन्त्रको मूल्य र मान्यतामा आघात पुर्याउँछ ।’