काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कुटनीतिक आचारसंहिता उल्लंघन गरेको भन्दै प्रधानमन्त्री, राष्ट्रपतिलगायत ११ निकायमा उजुरी परेको छ ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकले नै यस्तो उजुरी गरेका हुन् । राष्ट्र बैंकका कार्यकारी निर्देशक विनोदराज आचार्यले गत कात्तिक २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गरी निवेदन दिएका हुन् । निवेदनमा गभर्नर अधिकारीले कुटनीतिक आचारसंहिता २०७७ प्रतिकूल कार्य गरेको आसय छ ।
राष्ट्र बैंकले गत असोज ८ गते नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर जवराको सम्मानमा हायत रिजेन्सी होटलमा एउटा गोष्ठी आयोजना गरेको थियो । सो गोष्ठीमा भारतको केन्द्रीय बैंकका गभर्नर शक्तिकान्त दासले ‘फस्ट हिमालय शमशेर मेमोरियल लेक्चर अन सेन्ट्रल बैंकिङ इन द ट्वेन्टीफस्ट सेन्चुरीः चेन्जिङ प्याराडाइम’ विषयमा प्रवचन दिएका थिए ।
कार्यक्रम र दिवाखानापछि दिउसो करिब २ बजे नेपाल र भारतका गभर्नरहरुले नेपाल राष्ट्र बैंकको गभर्नर कार्यालय वालुवाटारमा छलफल गरेका थिए । छलफलको विषय सीमा वारपार हुने भुक्तानी पद्दतीलाई आगामी दिनमा अझ सहज र सरल बनाउन दुवैतर्फबाट उपयुक्त डिजिटल उपकरण सञ्चालन गर्ने सम्बन्धमा थियो ।
सो छलफलमा भारतीय रिजर्भ बैंकका तर्फबाट गभर्नर दासका अतिरिक्त गुनवीर सिंह, सत्यशिव पाणिग्रही र मेजर यशपाल सिंह चरण तथा नेपाल राष्ट्र बैंकका तर्फबाट गभर्नर अधिकारी, डेपुटी गभर्नरहरु निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र तथा राष्ट्र बैंकका कार्यकारी निर्देशकद्वय नेफिल माताङ्गि मास्के र विनोदराज आचार्य, निर्देशकहरु निश्चल अधिकारी र डिल्लीराम पोखरेल तथा उपनिर्देशक स्वेच्छा शाक्य उपस्थित थिए ।
सो छलफल लगत्तै भारतका गभर्नर दासले नेपालका गभर्नर अधिकारीलाई महात्मा गान्धी अंकित सिक्का प्रदान गरेका थिए भने गभर्नर अधिकारीले पनि गभर्नर दासलाई नेपालको टक्सारबाट टंकण गरिएका गाई अंकित २ थान चाँदीका सिक्कासहितको सानो निलो सन्दुक सहित उपहार दिएका थिए ।
गभर्नर अधिकारीले भारतका गभर्नर दासमार्फत भारतका प्रधानमन्त्री मोदीलाई पनि उपहार पठाए । गभर्नर अधिकारीले गभर्नर दासलाई दिएकै स्वरुपको निलो रंगको सानो सन्दुकभित्र आफ्नो भिजिटिङ्ग कार्डसमेत राखेर गभर्नर दासमार्फत भारतीय प्रधानमन्त्री मोदीलाई उक्त गाई अंकित सिक्काहरु उपहार पठाएका थिए ।
गभर्नर अधिकारीले भारतीय प्रधानमन्त्री मोदीलाई पठाएको उपहार कुटनीतिक आचार संहिता अनुकुल भए नभएको विषयमा प्रश्न उठाइएको छ । कार्यकारी निर्देशक आचार्यले प्रधानमन्त्रीलाई दिएको निवेदनमा विषेश गरेर ३ वटा प्रश्न उठाइएको छ ।
‘उक्त कार्यक्रम कुटनीतिक आचार संहिता २०७७ को दफा ७ को उपदफा (१) बमोजिम भएको हो , होइन ?’ आचार्यले उठाएको पहिलो प्रश्न छ ।
यस्तै दोस्रो प्रश्नमा ‘उपहार आदान प्रदानका सम्बन्धमा कुटनीतिक आचार संहिता २०७७ को दफा ११ को पालना भएको छ, छैन ?’ दोस्रो प्रश्नमा भनिएको छ ।
कार्यकारी निर्देशक आचार्यले राष्ट्र बैंकले आयोजना गरेको सो कार्यक्रम परराष्ट्रमन्त्री संयोजक रहने आचार संहिता पालना अनुगमन समितिले छानविन तथा अनुगम गर्नुपर्ने हो कि होइन भनेर पनि प्रश्न गरेका छन् ।
सो निवेदनको बोधार्थ राष्ट्रपति रामचन्द्र पौडेल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री आरजु राणा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेता ज्ञानेन्द्र शाही र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई दिइएको छ ।
यस्तै, जनमत पार्टीका अध्यक्ष सिके राउत, राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष्य चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीको संसदीय दलका नेता प्रेम सुवाललगायतलाई दिइएको छ ।