Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँ महानगरको सामाजिक क्षेत्रका काममा ४३.४९ प्रतिशत वित्तीय र ४५.९४ प्रतिशत भौतिक प्रगति 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभागले आर्थिक बर्ष २०७९÷०८० मा सम्पादन गरेका कामको सामाजिक विकास समितिमा समीक्षा गरेको छ । 

समितिका संयोजक रामकुमार केसीको अध्यक्षतामा बसेको बैठकमा सम्पन्न आर्थिक बर्षको समीक्षा गर्दै चालु आर्थिक बर्षको कार्यक्रम कार्यान्वयनका विषयमा छलफल भयो । 

बैठकको पहिलो सत्रमा गरिएको समीक्षापछि बोल्दै संयोजक केसीले चालु आर्थिक बर्षमा प्रगति प्रतिशतलाई उच्च स्थानमा पु¥याउने गरी काम थाल्न विभागलाई निर्देशन दिए ।

‘कार्यान्वयनमा लैजान कुनै असजिला ठाउँ छन् भने त्यसको विषयमा आज नै कुरा गरौँ । विभागले कार्यान्वयन गर्नुपर्ने महानगर गौरवका योजना र स्वर्णीम योजनाका विषयमा स्पष्ट हुनु पर्ने भए, प्रक्रिया मिलाउनु पर्ने भए त्यो काम गर्नु प¥यो । नियमित कार्यक्रमलाई तत्काल कार्यान्वयनमा लैजानु प¥यो,’ उनले भने ।

बैठकमा समितिका सदस्यहरु, राजेन्द्रकुमार श्रेष्ठ, महेश नेपाली र ललिता खड्गीले, सामाजिक सुरक्षा र समावेशीकरण, लैङ्गिक समानता, उद्यमशीलता, खेलकुदलगायत क्रियाकलापबाट नागरिकसँग जोडिनु पर्ने धारणा राखे । विभागले बालबालिका, महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्नु पर्नेछ । सामाजिक विकासका कार्यक्रमबाट पछाडि परेका तथा सहरी गरिवीको रेखामुनि रहेका व्यक्तिहरुको जीवनस्तरमा सुधार ल्याउनु पर्नेछ । यी काम महानगरका दायित्वभित्र पर्ने काममध्ये महत्वपूर्ण काम हुन् । उनीहरुले साझा धारणा राख्दै भने, विभाग रातदिन जागा रहनु पर्ने बेला आएको छ । 

‘गएको बर्षका सिकाइलाई चालु आर्थिक बर्षका कार्यक्रम कार्यान्वयनमा उपयोग गरिनेछ । विभागअन्तर्गत स्वीकृत कार्यक्रम कार्ययोजना सामाजिक समितिमा छलफल गराएर कार्यान्वयन निर्णय प्रक्रियामा लगिनेछ, कार्यक्रम सञ्चालनमा विषयमा योजना सुनाउँदै समितिका सदस्य सचिव एवं विभागका प्रमुख गोपालप्रसाद पोखरेलले भने ।

क्षेत्रगत सहभागितामा गर्नुपर्ने, आधारका लागि अध्ययन गर्नु पर्नेलगायतका प्रक्रियाबाट कार्यान्वयनमा जाने पनि उनले बताए । यसका लागि विभागले वार्षिक कार्ययोजना तयार पारिसकेको छ पोखरेलले जानकारी दिए ।

बैठकमा तथ्याङ्क अधिकृत कृष्णराज तिवारीले गएको बर्ष विभागबाट सम्पन्न गरिएका काम सम्बन्धी प्रस्तुतिकरण गरेका थिए । उनका अनुसार गत आर्थिक वर्षमा विभागले  ४३.४९ प्रतिशत वित्तिय र ४५.९४ प्रतिशत भौतिक प्रगति प्राप्त गरेको छ ।  

‘यस बर्ष १६६ वटा कार्यक्रम थिए । आन्तरिकतर्फका ६३ र सशर्ततर्फ १०३ वटा कार्यक्रमका लागि ८२ करोड, १६ लाख ९९ हजार रुपैयाँ विनियोजन गरिएको थियो । यी कार्यक्रममध्ये आन्तरिकतर्फ २४ वटा र  सशर्ततर्फ २३ वटा कार्यान्वयन भए । प्रतिशतमा हेर्दा आन्तरिकतर्फ ३५.६५ प्रतिशत वित्तिय र ३५.९६ प्रतिशत भौतिक तथा सशर्ततर्फ ७०.९५ प्रतिशत वित्तिय र ७२.६५ प्रतिशत भौतिक प्रगति भएको छ,’ तिवारीले भने ।

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १५:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update