Odapalika - The Fourth Estate - चौथो अंग
गलत ठेगानामा बालेनकाे चिठी, आयोजक भन्छ– जरिमानाबारे थाहा छैन 

काठमाडौँ । नेकपा एमालेले गत शुक्रबार दरबारमार्गमा ‘जागरणसभा’को आयोजना गर्‍यो । सो सभामा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीसहित शीर्षस्थ नेताहरुले सम्बोधन गरे । कार्यक्रम सकियो, नेता तथा कार्यकर्ता कार्यक्रमस्थलबाट बाहिरिए । यसको केही समयपछि दरबारमार्ग फोहोर गरेको भन्दै काठमाडौँ महानगरपालिकाले एमालेलाई एक लाख रुपैयाँ जरिमाना गरेको पत्र सार्वजनिक भयो । 

यसलाई एमालेले काठमाडौँका मेयर बालेन शाहको ‘स्टन्ट’को आरोप लगाए । एमाले महासचिव शंकर पोखरेललेखि अधिकांश नेताहरुले ‘बालेन शाहको स्टन्ट’ भन्दै आपत्ति जनाए । र यो विवाद अझै सकिएको छैन । तर, झन पेचिलो बन्दै गएको देखिन्छ । सामाजिक सञ्जालमार्फत कारबाहीको पत्र सार्वजनिक भएको भए पनि आयोजकलाई कारबाहीबारे थाहा नभएको जनाएको छ । 

यही मंसिर ७ गते दरबारमार्गमा गरिएको ‘जागरणसभा’को आयोजक एमाले जिल्ला कमिटी काठमाडौँ, ललितपुर र भक्तपुर रहेको दाबी गरिएको छ । जिल्ला कमिटी काठमाडौँको लेटरप्याडमा आयोजक तीनवटै जिल्ला रहेको उल्लेख गरेर जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट कार्यक्रम गर्न अनुमति लिएको एमाले ललितपुरका अध्यक्ष पुरूषोत्तम आचार्यले जानकारी दिए । तर, काठमाडौँ महानगरको चिठी भने एमाले केन्द्रीय कार्यालयको नाममा काटिएको देखिन्छ । गलत ठेगानामा काटिएको र ‘स्टन्टबाजी’ कारबाहीको जरिमाना नतिर्ने एमालेका नेताहरुले सार्वजनिक अभिव्यक्ति दिन थालेका छन् । 

काठमाडौँ महानगरपालिको महानगरी प्रहरी बलले  एमाले केन्द्रीय कार्यालयलाई लेखेको पत्र

श्री नेपाल कम्युनिष्ट पार्टी (एमाले),
मुख्य कार्यालय च्यासल, ललितपुर ।

विषय : जरिवाना सम्बन्धमा ।

प्रस्तुत विषयमा मिति २०८१ मंसिर ७ गते काठमाडौं महानगरपालिका वडा नं.–१ दरवारमार्गस्थित खुल्ला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहरमैला गरि वातावरण प्रदुषण गरेकोले तपाईलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम रु. १००,०००/०० अक्षरुपी एक लाख जरिवान गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गर्दछु ।

लिलाराज गाछा 
नगर प्रहरी निरीक्षक
काठमाडौँ महानगरपालिका

तर, एमाले केन्द्रीय कार्यालय आयोजक नभएको एमाले ललितपुरका अध्यक्ष पुरूषोत्तम आचार्यले बताए । ‘केन्द्रीय कार्यालय आयोजक होइन । एमाले काठमाडौँ, ललितपुर र भक्तपुरले सभा आयोजना गरेको हो,’ उनले भने, ‘हामीलाई कारबाहीको पत्र हालसम्म आएको छैन ।’ 

आफूहरुले कार्यक्रम सकिएलगत्तै स्वयंकसेवकहरुले सफा गरिरहँदा एक लाख जरिमाना गरिएकोपत्र सामाजिक सञ्जालमा पोष्ट गरेर बालेनले ‘स्टन्ट गरेको अध्यक्ष आचार्यको आराेप छ । आयोजकलाई पत्र नआएकाले जरिमाना तिर्ने कुरा पनि नभएको उनको भनाइ छ । 
 

प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  १२:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update