काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौाडेलले आसन्न स्थानीय तहको उपनिर्वाचनमा नेपाली सेना प्रयोग गर्न अनुमति दिएका छन् ।
यही मंसिर १६ गते हुने ३३ जिल्लाका विभिन्न स्थानीय तहमा रिक्त ४१ पदका लागि हुने उपनिर्वाचनमा नेपाली सेना परिचालन गर्न राष्ट्रपति पौडेलले स्वीकृति दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।
उनका अनुसार मन्त्रिपरिषद्को सिफारिस बमोजिम नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालनको स्वीकृति दिइएको हो ।
‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्वत् २०८१ साल मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन, २०८१ सुरक्षित, भयरहित, निष्पक्ष एवम् शान्तिपूर्ण रूपमा सम्पन्न गर्न नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१/८/६ को निर्णय बमोजिम सम्माननीय प्रधानमन्त्रीको मिति २०८१/८/६ को सिफारिसमा उल्लेखित उपनिर्वाचनमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गर्नुभएको छ,’ प्रवक्ता भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।