काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नेकपा एमालेलाई सडक र सडकपेटीमा फोहोर गरे भन्दै एक लाख जरिमाना तिर्न ताकेता गरेको छ ।
गत शुक्रबार काठमाडौँको दरबारमार्गमा एमालेले ‘जागरणसभा’ गरेको थियो । उक्त जागरणसभास्थल दरबारमार्गको सडक तथा सडकपेटीमा फोहोर गरेको भन्दै काठमाडौँ महानगरपालिका महानगरी प्रहरी बलले एक लाख रुपैयाँ जरिमाना गरेको पत्र सामाजिक सञ्जालमा भाइरल बनेको थियो । तर, आइतबार बिहानसम्म एमालेले आफूहरुलाई जरिमाना गरिएको औपचारिक पत्र नआएको बताएको थियो । एमाले नेताहरूले आयोजक एमाले काठमाडौँ, ललितपुर र भक्तपुर भएको र सार्वजनिक पत्र केन्द्रीय कार्यालयलाई लेखेकाले नतिर्ने एमाले नेताहरुले सार्वजनिक अभिव्यक्ति दिए ।
यसपछि काठमाडौँ महानगरपालिकाले एमाले केन्द्रीय कार्यालय च्यासलमा पत्र बुझाउन नगर प्रहरी पठायो । आइतबार दिउँसो पौन २ बजे महानगरीय प्रहरी बल जरिमाना गरिएको पत्र बुझाउन च्यासल पुगेको नगर प्रहरी निरीक्षक किशोर भट्टराईले वडापालिकालाई जानकारी दिए । तर, उक्त पत्र एमाले केन्द्रीय कार्यालय दर्ता गर्न नमानेको उनले बताए ।
एमाले कार्यालयले पत्र दर्ता गर्न नमाने पनि कार्यालय सचिवले भने पत्र लिएको निरीक्षक भट्टराईले बताए । ‘जरिमाना गरिएको पत्र लिएर आज दिउँसो १ः४५ बजे एमाले केन्द्रीय कार्यालय च्यासल पुगेका थियौँ । पत्र दर्ता भएन । तर, कार्यालय सचिवले भने पत्र लिनुभयो,’ उनले वडापालिकासँग भने ।
एमाले केन्द्रीय कार्यालयका सचिवले पत्र लिए पनि आफूहरु आयोजक नभएको भन्दै आयोजकलाई नै पत्र बुझाउन सुझाव दिएको नगर प्रहरी निरीक्षक किशोर श्रेष्ठले बताए ।
गत शुक्रबार भएको जागरसभाको आयोजक एमाले काठमाडौ, ललितपुर र भक्तपुर जिल्ला कमिटी रहेको एमाले ललितपुरका अध्यक्ष पुरूषोत्तम आचार्यले जानकारी दिए ।
उनले जागरणसभाको आयोजक एमाले केन्द्रीय कार्यालय नभएको स्पष्ट पारे । ‘केन्द्रीय कार्यालय आयोजक होइन । एमाले काठमाडौँ, ललितपुर र भक्तपुरले सभा आयोजना गरेको हो,’ उनले भने, ‘हामीलाई कारबाहीको पत्र हालसम्म आएको छैन ।’
आफूहरुले कार्यक्रम सकिएलगत्तै स्वयंकसेवकहरुले सफा गरिरहँदा एक लाख जरिमाना गरिएकोपत्र सामाजिक सञ्जालमा पोष्ट गरेर महानगरका मेयर बालेन शाहले ‘स्टन्ट गरेको अध्यक्ष आचार्यको भनाइ छ । आयोजकलाई पत्र नआएकाले जरिमाना तिर्ने कुरा पनि नभएको उनको भनाइ छ ।