काठमाडौँ । अनलाइनमार्फत् नै बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले टिकट खरिद गर्दा शतप्रतिशत क्यासब्याक अफर सुरू गरेको छ । यात्रुहरुको सहजताका लागि देशका सबै गन्तव्यको टिकट काट्ने यात्रुहरुलाई शतप्रतिशत क्यासब्याक अफर सुरु गरिएको बससेवाले जनाएको छ ।
मंसिर ९ गते सुरु भएको अफर अन्तरगत दैनिक १० जना यात्रुलाई बससेवाले टिकट काट्दा लागेको सबै रकम फिर्ता दिनेछ । बससेवाका प्रमुख कार्यकारी अधिकृत पिआर खनालका अनुसार देशका कुनै पनि गन्तव्यको टिकट काट्ने यात्रुहरुमध्ये दैनिक १० जनाले टिकट काट्दा लागेको सबै रकम फिर्ता पाउनेछन् ।
‘मंसिर १५ गतेसम्म चल्ने अफरमा हामीले दैनिक १० जनालाई निशुल्क बसको टिकट उपलब्ध गराएका हौं । बससेवाको माबाइल एप तथा वेबसाइटबाट टिकट काट्ने सबैलाई अफरमा सहभागी गराइनेछ,’ प्रमुख कार्यकारी अधिकृत खनालले भने ।
सहज किसिमले बसको टिकट काट्न सकिने प्लेटफर्म बससेवा यात्रुको रोजाइमा परोस् भन्नका लागि पनि यो अफर सञ्चालन गरिएको खनालको भनाइ छ ।
प्रविधिको उच्चतम प्रयोग गर्दै जोखिमरहित र झन्झटरहित तरिकाले घरमा बसी बसी आफ्नो मोबाइलबाट शतप्रतिशत क्यासब्याक को सेवा लिन तथा छुटमा बसको टिकट काट्न सकिने बससेवाले जनाएको छ ।
बससेवाले देशभरका विभिन्न ४३३ गन्तव्यको टिकट काट्दा शतप्रतिशत क्यासब्याक अफर लागु हुने जनाएको छ । देशका जुनसुकै स्थानबाट काठमाडौँका लागि छुट्ने बसको टिकट पनि काट्न सकिने हुँदा अफरले यात्रुहरू लाभान्वित हुने बससेवाको अपेक्षा छ ।
संघीय राजधानी काठमाडौँ उपत्यकासहित देशका मुख्य सहरमा रहेका १० हजारभन्दा बढी स्टेसनरी, पान पसल, ट्राभल एजेन्सीलगायतबाट बससेवा प्रयोग गरी टिकट काट्न सकिनेछ । ती स्थानबाट टिकट काट्दा पनि अफरमा सहभागि हुन सकिने बससेवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
७० भन्दा बढी जिल्लाका ४३३ गन्तव्यका लागि दैनिक ४२ हजारभन्दा बढीको संख्यामा बससेवाबाट टिकट काट्न सकिने विज्ञप्तिमा उल्लेख छ । नेपालका कुनै पनि सहरको टिकट अनलाइनबाटै काट्न सकिने भएकाले यात्रुलाई टिकट काट्न बससेवा उचित माध्यम हुने र टिकट काट्नकै लागि काउण्टर पुग्नु नपर्ने साथै लाइन बस्नुनपर्ने बससेवाले जनाएको छ ।
बससेवा नेपालको पहिलो अनलाइन बस टिकेटिङ प्लेटफर्म हो । बससेवामा ५०० भन्दा बढी यातायात समिति तथा कम्पनी आबद्ध छन् । सबै समिति तथा कम्पनीका हजारौँ बसका लाखौँ सिटको टिकट घरबाटै बुकिङ गर्न सकिने भएकाले यात्रुलाई सहज हुने विश्वास बससेवाको छ ।