काठमाडौँ । काठमाडौँ महानगरपालिका र संघीय सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेबीच विवाद बढ्ने भएको छ ।
गत शुक्रबार काठमाडौँको दरबारमार्गमा एमालेले आयोजना गरेको ‘जागरणसभा’मा फोहोर गरेको भन्दै काठमाडौँ महानगरले एमालेलाई १ लाख रुपैयाँ जरिमाना गरेको पत्र पठाएको थियो । एमालेलाई काठमाडौँ महानगरले जरिमाना गरेको पत्र शुक्रबार साँझ नै सार्वजनिक भएको थियो ।
आइतबार दिउँसो पौन २ बजे महानगरीय प्रहरी बल जरिमाना गरिएको पत्र बुझाउन च्यासल पुगेको नगर प्रहरी निरीक्षक किशोर भट्टराईले वडापालिकालाई जानकारी दिए । तर, उक्त पत्र एमाले केन्द्रीय कार्यालय दर्ता गर्न नमानेको उनले बताए ।
एमाले केन्द्रीय कार्यालयले पत्र दर्ता गर्न नमाने पनि कार्यालय सचिवले भने पत्र लिएको निरीक्षक भट्टराईले बताए ।
‘जरिमाना गरिएको पत्र लिएर आज दिउँसो १ः४५ बजे एमाले केन्द्रीय कार्यालय च्यासल पुगेका थियौँ । पत्र दर्ता भएन । तर, कार्यालय सचिवले भने पत्र लिनुभयो,’ । उनले वडापालिकासँग भने ।
एमाले केन्द्रीय कार्यालयका सचिवले पत्र लिए पनि आफूहरु आयोजक नभएको भन्दै आयोजकलाई नै पत्र बुझाउन सुझाव दिएको नगर प्रहरी निरीक्षक किशोर श्रेष्ठले बताए ।
‘एमाले सचिवज्यूले पत्र त लिनुभयो । तर, उहाँले आफूहरु आयोजक नभएकाले यहाँ पत्र दर्ता गर्नु परेन । तपाईंहरु आयोजकलाई बुझाउनुुस भन्नुभयो । आयोजक एमाले काठमाडौँ, ललितपुर र भक्तपुर रहेको जानकारी दिनुभयो,’ उनले भने ।
गत शुक्रबार भएको जागरसभाको आयोजक एमाले काठमाडौ, ललितपुर र भक्तपुर जिल्ला कमिटी रहेको एमाले ललितपुरका अध्यक्ष पुरूषोत्तम आचार्यले जानकारी दिए ।
‘केन्द्रीय कार्यालय आयोजक होइन । एमाले काठमाडौँ, ललितपुर र भक्तपुरले सभा आयोजना गरेको हो । हामीलाई कारबाहीको पत्र हालसम्म आएको छैन,’ अध्यक्ष आचार्यले वडापालिकासँग भने ।
हुलाक मार्फत पत्र पठाउने, निर्वाचन आयोगलाई बोधार्थ
एमाले केन्द्रीय कार्यालयले महानगरको पत्र दर्ता गर्न नमानेपछि काठमाडौँ महानगरपालिकाले हुलाकमार्फत पत्र पठाउने भएको छ । यस्तै, सो पत्रको बोधार्थ निर्वाचन आयोगलाई पनि दिइने महानगर स्रोतले जानकारी दियो ।
‘कार्यक्रममा एमालेका देशभरका जिल्ला कमिटीहरु सहभागी थिए होलान् । उसका विभिन्न जनवर्गीय संगठनहरु थिए होलान् । हामीले त्यो सबै जान्ने र उनीहरुलाई पत्र पठाउने कुरा भएन । एमाले केन्द्रीय कार्यालयले महानगरले पठाएको पत्र बुझेको छ । तर, दर्ता गरेको छैन । अब हामी हुलाक तथा इमेल जस्ता अन्य विकल्पबाट पनि पत्र पठाउँछौं । हामीले पठाएको पत्रको बोधार्थ निर्वाचन आयोगलाई पनि दिन्छौं,’ काठमाडौँ महानगर स्रोतले वडापालिकासँग भन्यो ।
यो विषयले संघीय सरकारको नेतृत्व गरिरहेको एमाले र काठमाडौँ महानगरबीच विवाद बढ्ने देखिएको छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच विभिन्न विषयमा घोचपेच चल्दै आएको थियो । महानगर फोहोर गरेको विषयमा एमाले र काठमाडौँ महानगरबीच अब सिधा विवाद हुन थालेको छ ।