Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय तह उपनिर्वाचनः १६ मंसिरमा सार्वजनिक बिदा प्रस्ताव

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचन हुने स्थानमा सार्वजनिक विदा दिन सरकारलाई प्रस्ताव गरेको छ । १६ मंसिरमा उपनिर्वाचन हुँदैछ । 

आयोगले उपनिर्वाचन हुने  स्थानीय तहको उपनिर्वाचनका लागि मतदान स्थल उपलब्ध गराइदिन निर्देशन दिएको छ । आयोगले यही मंसिर १३ देखि १६ गते मतदान सम्पन्न नभएसम्म मतदान स्थलको रूपमा कायम भएका स्थान उपलब्ध गराइदिन आग्रह गरेको हो ।

आयोगले मतदान स्थल कायम भएका सामुदायिक विद्यालय, निजी विद्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, औद्योगिक प्रतिष्ठान, सार्वजनिक स्थल निर्वाचन प्रयोजनका लागि उपयोग गर्ने व्यवस्था मिलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत उपनिर्वाचन हुने सबै स्थानीय तहलाई निर्देशन दिएको हो ।

आयोगको बैठकले स्थानीय तहको उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न गर्न, गराउन तथा स्थानीय तहमा मतदानस्थल उपयोग गर्ने, सार्वजनिक बिदा दिन भनेको हो ।

उपनिर्वाचन हुने स्थानीय तहमा सम्बन्धित स्थानीय तहभर र वडा अध्यक्षको उपनिर्वाचन हुने स्थानीय तहमा वडाको क्षेत्रभित्रका कार्यालयमा सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन समेत बैठकले आग्रह गरेको आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् ।

मतदाताहरूलाई बिदाको सुविधा वा अन्य उपयुक्त वैकल्पिक उपाय अपनाइ मतदान गर्ने सहज व्यवस्था मिलाइदिन सम्बन्धित स्थानीय तह वा जिल्ला स्थित निजी क्षेत्रबाट सञ्चालित औद्योगिक वा शैक्षिक वा अन्य प्रतिष्ठानलाई पनि आयोगले आह्वान गरेको छ ।

उपनिर्वाचनका लागि मतदाता परिचयपत्रका अलावा अन्य सरकारी कागजातका आधारमा मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको छ । 
 

प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  ०६:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update