काठमाडौँ । आजबाट महिला हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । अभियानलाई काठमाडौँ महानगरपालिकाले भनै नौटंकी भन्दै यो १६ दिने अभियान नमनाउने घोषणा गरेको छ ।
काठमाडौँ महानगरको लैंगिक हिंसा सम्बन्धी कार्यक्रममा राज्यका अन्य निकाय असहयोग ीबनेको सन्दर्भ कोट्याँदै महानगरले आफ्ना कार्यक्रमलाई निरन्तरता दिने तर १६ दिने औपचारिकताको नाटक भने नगर्ने भनेको छ ।
यसलाई महानगरले नैतिकताको प्रतिकूल हुने कार्यक्रमसमेत भनेको छ । महानगरले बालापनको रक्षा भविष्यको सुरक्षा भन्ने नाराका साथ महिला हिंसाविरुद्धको कार्यक्रम गर्दै आएको दाबी गर्दै यसलाई वर्षभर निरन्तरता दिने भन्दै प्रवक्ता नविन मानन्धरले विज्ञप्ति नै जारी गरेका छन् ।
हेर्नहोस् विज्ञप्ति
हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको हो । ‘लैङ्गिक हिंसा मानव अधिकारको हनन हो’ भन्ने विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा जनचेतना विस्तार गर्न नेपालले पनि हरेक वर्ष नोभेम्बर २५ तारिखमा महिला हिंसा विरुद्धको राष्ट्रिय अभियान दिवसका रूपमा मनाउने गरेको छ ।
सन् १९८० को दशकदेखि नै विभिन्न मुलुकले महिलामाथि हुने हिंसा विरुद्धको दिवस मनाउँदै आएको भए पनि सन् १९९९ मा संयुक्त राष्ट्रसङ्घले अनुमोदन गरेपछि महिलामाथि हुने हिंसा विरुद्धको विभिन्न अभियान सुरु भएको हो ।
२९ कात्तिक २०७५ मा सरकारले हरेक वर्ष नोभेम्बर २५ तारिखलाई महिला हिंसा विरुद्धको १६ दिने अभियान दिवसका रूपमा मनाउने घोषणा गरेको थियो ।
महिलामाथि हुने हिंसाविरुद्ध व्यापक जनचेतना जगाउने र समस्याको पहिचान गरी समाधानका लागि राज्यलाई कानुनी आधार तय गर्न सहकार्य गर्नु, लैङ्गिक हिंसा विरुद्ध पुरुषको सहकार्यलाई अभिवृद्धि गर्नु, लैङ्गिक समानता तथा सामाजिक न्यायका क्षेत्रमा काम गर्ने अधिकारकर्मीबीच ऐक्यबद्धता गर्नु, लैङ्गिक हिंसाका विविध आयाममा रणनीतिक छलफल गर्नु १६ दिने अभियानका मुख्य उद्देश्य तय गरिएको छ ।