Odapalika - The Fourth Estate - चौथो अंग
बैदेशिक रोजगारी छाडेर कृषिबाटै लाखौंको कमाइ 

 

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका युवा वैदेशिक रोजगारीबाट फर्किएर गाउँघरमै उद्यम व्यवसायमा आकिर्षत हुन थालेका छन् । 

स्थानीय  र संघीय सरकारले वैदेशिक रोजगारीबाट फर्किएर आफ्नै ठाउँमा केही गर्न चाहनेका लागि प्रोत्साहनमूलक कार्यक्रम अघि सारेपछि गाउँमै युवाको आकर्षण बढेको हो । 

युवाले अहिले व्यावसायिकरूपमा कृषि गरेर मनग्य आम्दानीसमेत गर्दै आएका छन् । लामो समयसम्म विदेशमा पसिना बगाए पनि राम्रो आम्दानी गर्न नसकेपछि उनीहरू यहीँ नै उद्यममा जुटेका हुन् । 

विदेशबाट फर्केर टेम्केमैयुङका युवा प्रेम बस्नेतले व्यावसायिकरूपमा बाख्रापालनसँगै विभिन्न उद्यम गर्दै आएका छन् । 

‘विदशमा धेरै नै दुःख छ । त्यो खाले दुःख यहाँ गर्ने हो भने पैसा कमाउन समस्या नै छैन,’ बस्नेत भन्छन् । 

राज्यको तर्फबाट सञ्चालन भएका विभिन्न कार्यक्रमले युवालाई व्यवसायमा लाग्न हौसला मिलेको उनको भनाई छ । विदेशमा यहाँबाट सोचेर गएजस्तो सहज नहुने बस्नेतको अनुभव छ ।

व्यावसायिक भएर आफ्नै ठाउँमा काम गर्ने हो भने त्यहाँको भन्दा दोब्बर आम्दानी गर्न सकिने उनको अनुभव छ । 

विदेशबाट फर्केर स्थानीय खड्गबहादुर राउतले पनि व्यावसायिकरूपमा सतुवा तथा चिराइतो खेती गरिरहेका छन् । यो व्यवसायबाट वार्षिक ३ देखि ५ लाख रुपैयाँसम्म आम्दानी भएको उनी बताउँछन् । 

विदेशबाट फर्केर स्थानीय गुणराज राउतले व्यावसायिक बाख्रापालनबाट मनग्य आम्दानी लिइरहेका छन् ।  बिदेशमा १५ वर्ष पसिना बगाएका उनी त्यहा गरेका मिहिनेतबाट नेपालमा नै मनग्य आम्दानी भएको अनुभवसहित गाउँमै पसिना बगाइरहेका छन् । 

‘विदेशमा पाएको दुःखलाई सम्झेर अहिले आफ्नै ठाउँमा व्यावसायिकरूपमा बाख्रापालनमा लागेको छु । बाख्रापालनबाट यही राम्रो आम्दानी गरिरहेको छु,’ उनी भन्छन् । 

विदेशमा गर्ने मेहनत यहाँ गर्न सके आफ्नै ठाउँमा परिवारसँग बसेर राम्रो आम्दानी लिन सकिने उनको अनुभव छ । मानिसहरूले विदेशमा बगाउने पसिना यहीँ बगाए देशलाई पनि योगदान पुग्ने स्थानीय राउतको भनाइ छ । 

बाख्रापालनसँगै उनी जडीबुटीकोसमेत व्यावसायिक खेती गरिरहेका छन् । बाख्रालाई विभिन्न समयमा लाग्ने रोगको भने समस्या रहेको राउतको भनाइ छ । 

कृषकलाई व्यावसायिकरूपमा बाख्रापालनको विषयमा जानकारी नहुँदा समस्या हुने गरेको यहाँका युवा कृषि उद्यमीको गुनासो छ । 

टेम्केमैयुङ गाउँपालिका एकराज विष्ट पनि विदेशबाट फर्केर व्यावसायिक किवी तथा एभोकाडोको खेतीमा लागेका छन् ।  १ वर्षअघिबाट उनले खेती सुरु गरेका हुन् । यो अवधिमा उनले ८ लाख रुपैयाँ कमाइसकेका छन् । 

‘विदेशमा जस्तो पनि काम गर्न पछि नपर्ने हामी यहाँचाहिँ दुःख गर्न लाज मान्छौं । या बानी त्यागेर गाउँमै काम गर्ने हो भने नेपाल नै स्वर्ग हो,’ उनी भन्छन् । 

पालिका अध्यक्ष भन्छन्ः प्रोत्साहन नीति छ 

बैदेशिक रोजगारीबाट फर्किएर गाउँमै उद्यम गर्न चाहनेका लागि पालिकाले विभिन्न प्रोत्साहनमूलक नीति लिएको गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत बताउँछन् । 

वडापालिकासँग टेलिफोनमा कुरा गर्दै उनले पालिकाले बैदेशिक रोजगारीप्रतिको आकर्षण घटाएर स्थानीय स्तरमै रोजगारी सिर्जनाका लागि विभिन्न योजना बनाउने काम पालिकाले अघि वढाएको बताए । 

उनले बिदेशबाट फर्किएर स्वेदशमै केही गर्न चाहनेका लागि यसअघि खास नीति बनाउन नसकेपनि यसपटकबाट कृषकले उत्पादन गरेको दूध पालिकाले खरिद गर्ने नीति ल्याएको बताए ।

डिडिसीसँगको समन्वयमा स्थानीय कृषकले उत्पादन गरेका दूध खेर जान नदिने र राम्रो मूल्य पनि दिने योजनासहित कृषिमैत्री योजनाहरु कार्यान्वयन गरिने उनको भनाइ छ । 

यसका अतिरिक्त कृषिप्रति स्थानीय आकर्षण बढाउन एक घर एक करेसावारी जस्ता नीति पनि पालिकासँग भएको उनको भनाइ छ । 

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  ११:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update