Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँ महानगरले एमालेलाई इमेलमार्फत पठायो जरिमानाको पत्र 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नेकपा एमालेलाई इमेलमार्फत जरिमाना गरिएको पत्र पठाएको छ । गत शुक्रबार काठमाडौँको दरबारमार्गमा एमालेले जागरणसभा गरेको थियो ।

सो सभाका क्रममा सडक तथा सडकपेटीमा फोहोर गरेको भन्दै काठमाडौँ महानगरले एमालेलाई एक लाख रुपैयाँ जरिमाना गरेको पत्र सार्वजनिक भएको थियो । 

तर, आइतबार बिहानसम्म पनि एमालेले आफूलाई आधिकारिक पत्र नआएको बताइरहँदा काठमाडौँ महानगरको प्रहरी पत्र लिएर आइतबार दिउँसो पौने २ बजे एमाले मुख्यालय च्यासल पुगेका थिए । महानगरका प्रहरीलाई जागरणसभाको आयोजक एमाले केन्द्रीय कार्यालय नभई काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला कमिटी रहेकाले उतै पत्र दिन भनिएको थियो । तर, पत्र दर्ता गर्न नमाने पनि एमाले कार्यालय सचिवले पत्र भने बुझेको महानगरको प्रहरी निरीक्षक किशोर भट्टराईले बताएका थिए । 

पत्र नबुझेपछि काठमाडौँ महानगरपालिकाले इमेलमार्फत पत्र पठाएर फोहोर गरेकाले कारबाही स्वरुप एक लाख रुपैयाँ जरिमाना गरिएको जानकारी गराएको छ । 

महानगरपालिकाको नगर प्रहरी बलको आधिकारिक इमेलबाट नेकपा एमालेको आधिकारिक इमेलमा पत्र पठाएर जरिमाना गरिएको जानकारी गराइएको छ । 
 

प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  १३:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update