Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय तह उपनिर्वाचन : ग्रामथानमा एमाले, माओवादी र रास्वपाका उम्मेदवार कांग्रेसकै व्यक्ति ! 

काठमाडौँ । स्थानीय तहको उपनिर्वाचन आउन एक सातामात्र बाँकी रहेका बेला राजनीतिक दलले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् । यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन नजिकिँदै गर्दा दलहरु आ–आफ्ना उम्मेदवारलाई विजयी गराउन भोट माग्दै हिँडेका छन् । ३३ जिल्लामा ४१ पदका लागि उपनिर्वाचन हुँदै छ । चुनावी प्रतिस्पर्धामा ३७६ चुनावी मैदानमा छन् । 

चुनावी प्रतिस्पर्धामा रहेका नेता र चुनावी कार्यक्रमका कारण सबैको ध्यान मोरङको गाउँपालिकाले तानेको छ । अध्यक्ष पदका लागि यहाँ उपनिर्वाचन हुन लागेको हो । 

कांग्रेसबाट दीक्षित नेता नै एमाले, माओवादी र रास्वपाको उम्मेदवार

ग्रामथान अध्यक्षका लागि कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपासहित १५ दलबाट एक एकजना र एक स्वतन्त्र उम्मेवार गरी १६ जना चुनावी प्रतिस्पर्धामा छन् । कांग्रेस छाडेकाहरु नै एमाले, माओवादी केन्द्र र रास्वपाका उम्मेदवार बनेका छन् । यसले कांग्रेसलाई कडा चुनौती दिनेछ । 

ग्रामथानमा आफ्नो जनाधार रहेको दाबी गर्दै आएका कांग्रेसलाई आफ्नो साख जोगाउनु निकै गाह्रो पर्ने देखिन्छ । कांग्रेसले तत्कालीन सिसवनी गाविसका अध्यक्ष समेत रहेका पाका नेता बलराम सरदारलाई उम्मेदवार बनाएर चुनावी मैदानमा उतारेको छ । 

उनलाई चुनौती दिन कांग्रेस त्यागेकालाई एमाले, माओवादी केन्द्र र रास्वपाले उम्मेदवार बनाएका छन् । एमालेका उम्मेदवार तुलसीराम विश्वास, माओवादी केन्द्रका उम्मेदवार नमोनारायण माझी र रास्वपाबाट उम्मेदवार बनेका नविनकुमार चौधरी विश्वास कांग्रेसमा लामो समय काम गरेका नेताहरु हुन् । 

कांग्रेसबाट तत्कालीन लखन्तरी गाउँपालिकाको अध्यक्ष र २०७४ मा ग्रामथान १ का वडाध्यक्ष भइसकेका नमोनारायण माझी अहिले माओवादी केन्द्रबाट उम्मेदवार बनेका छन् ।  

एमालेले तुलसीराम विश्वासलाई उम्मेदवार बनाएको छ । तर, उनलाई स्वतन्त्र उम्मेदवारले टक्कर दिने देखिन्छ । 

एमालेबाट अध्यक्षका लागि गाउँ कमिटीबाट नाम सिफारिस भएर पनि पार्टीको उम्मेदवार बन्न नसकेपछि नमनारायण चौधरी स्वतन्त्र उम्मेदवार बनेका छन् । जसले एमालेका उम्मेदवार विश्वासलाई चुनौती दिनेछन् । 

त्यस्तै, राप्रपाबाट दिनेशकुमार थन्दार, जनता समाजवादीबाट धर्मेन्द्रकुमार चौधरी, नेपाल मजदुर किसानबाट पर्शुराम विश्वास थारु, मंगोल नेशनल अर्गनाइजेसनबाट भरत राई, नेपाल समाजवादीबाट रामकुमार चौधरी, जनमतबाट विनोदकुमार माझी, नागरिक उन्मुक्ति पार्टीबाट बुद्धिचन विश्वास, एकीकृत समाजवादीबाट दिलबहादुर विश्वकर्मा र राप्रपा नेपालबाट राजु मुसहर, जसपा नेपालबाट सुरेशकुमार राजवंशी र समावेशी समाजवादी पार्टी नेपालबाट बोधनारायण माझी पनि चुनावी मैदानमा छन् । 

केन्द्रीय नेता कमान्डर

आ–आफ्ना उम्मेदवारलाई जिताउन प्रमुख राजनीतिक दलले केन्द्रीय नेतालाई ग्रामथानमा खटाएको छ । चुनावी कार्य    क्रमकै कमान्डरको रुपमा केन्द्रीयस्तरका नेता खटिएका छन् । 

काग्रेसले डा. मिनेन्द्र रिजाल, महेश आचार्य, डिला संग्रौला, भीम पराजुली, नेता अमृत अर्याल, डिगबहादुर लिम्बूलगायतका नेताहरु ग्रामथानमा खटिएका छन् । 

यस्तै, एमालेले गुरुप्रसाद बरालसहित  शेरधन राई, जीवन घिमिरे, ऋषिकेश पोखरेल, विनोद ढकाललगायतका नेताहरु ग्रामथान केन्द्रित चुनावी कार्यक्रममा सक्रिय भएर आफ्नो उम्मेदवारका लागि भोट मागेका छन् । 

नेकपा माओवादी केन्द्रले हरिबोल गजुरेल, सावित्रिकुमार काफ्ले, अजम्बर काङ्माङ, सांसद अमनलाल मोदी, शिवकुमार मण्डल, कुशल लिम्बू, गणेश उप्रेती, विजय विश्वास थारुलगायतका शीर्षनेतालाई ग्रामथानमा खटाएको छ । 

रास्वपा, राप्रपासहित अन्य राजनीतिक दलले चुनावी कार्यक्रमलाई तीव्रता दिएर आ–आफ्नो उम्मेदवारको पक्षमा भोट मागिरहेका छन् । 
 

प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  १४:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update