काठमाडौँ । योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको सात वर्ष पुगेको छ । २०७५ साल मंसिर ११ देखि सरकारले औपचारिक रुपमा योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू गरेको थियो ।
सामाजिक सुरक्षा योजना लागू भएको दिनको स्मरणमा आज प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा सातौँ सामाजिक सुरक्षा दिवस मनाइँदै छ । यो योजना लागू गर्ने समयमा पनि केपी शर्मा ओली नै प्रधानमन्त्री थिए ।
विसं २०७५ मङ्सिर ११ गते सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना सुरु गरेको थियो । २०७५ मङ्सिर ३ गतेको मन्त्रिपरिषद् बैठकले मङ्सिर ११ लाई सामाजिक सुरक्षा दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।
नेपालको संविधानले प्रत्येक नागरिकलाई सामाजिक सुरक्षाको हक हुने व्यवस्था गरेको छ । संविधानको सो व्यवस्था कार्यान्वयन गर्न सरकारले सामाजिक सुरक्षा कोष नै स्थापना गरेको छ । श्रम ऐन लागू हुने क्षेत्रमा योगदानमा आधारित सामाजिक सुरक्षा योजना अनिवार्य लागू हुने निर्णय सरकारले गरेपनि यसको कार्यान्वयन भने प्रभावकारी हुन सकेको छैन ।
कोषमा अहिलेसम्म औपचारिक, अनौपचारिक, वैदेशिक र स्वरोजगार क्षेत्रमा रहेको करिब १८ लाख श्रमिक सूचीकृत भइसकेका छन् । सोमबारसम्म औपचारिक क्षेत्रका पाँच लाख ४३ हजार चार सय ९१, वैदेशिक रोजगारमा रहेको १२ लाख ५३ हजार छ सय १५, अनौपचारिक क्षेत्रका तीन सय सात र स्वरोजगार क्षेत्रका दुई सय २७ गरी १७ लाख ९७ हजार छ सय ४० श्रमिक कोषमा आबद्ध भएका छन् ।
कोषले श्रमिकका लागि औषधोपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता, आश्रित परिवार र वृद्धावस्था सुरक्षा योजना सञ्चालन गरिरहेको छ । कोषले हालसम्म एक लाख ८० हजार नौ सय २२ श्रमिकलाई विभिन्न सुविधा योजनाअन्तर्गत ११ अर्ब ६२ करोड रुपैयाँ दाबी भुक्तानी गरिसकेको छ । कोषमा ६८ अर्ब ६८ करोड रुपैयाँ योगदान रकम जम्मा भइसकेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा दिवसको शुभकामना दिएका छन् । उनले सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन, व्यवस्थित ढंगले सञ्चालन गर्न र त्यसलाई पूर्णता दिन सरकार प्रतिवद्ध रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले मेरो सहारा कोही छैन भन्नेका निम्ति राज्य र सरकार रहेको बताएका हुन् ।
‘सरकार सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन, व्यवस्थित ढंगले सञ्चालन गर्न र त्यसलाई पूर्णता दिन प्रतिबद्ध छ । अब कसैले अनाथ भएँ भन्नु पर्दैन । अनाथ हुनु दुःखको कुरा हो । तर, अब अनाथ भएर मैले अभिभावकत्व पाइनँ भन्ने स्थिति हुने छैन । मेरो रेखदेख गर्ने कोही छैन भन्ने अवस्था कसैको हुने छैन । मेरो सहारा कोही छैन भन्ने अवस्था पनि हुने छैन । त्यसका निम्ति राज्य छ र सरकार छ । अहिलेको सरकार जनताको सरकार हो । सामाजिक न्याय र समानतासहित समृद्धिको यात्रामा हिंडेको सरकार हो’ प्रधानमन्त्री ओलीको शुभकामना सन्देशमा भनिएको छ ।
उनले सरकार सुशासन र विकासको अभियानमा लम्किरहेको बताए । सुशासन र विकासको अभियानमा लम्किरहेको सरकार भएको भन्दै देश र जनताप्रति निष्ठा र प्रतिबद्ध रहेको बताए । उनले सामाजिक सुरक्षा एउटा उन्नत अवधारणा र अभ्यास भएको दाबी गरे ।
‘हामीले विधिवत् रुपमा सामाजिक सुरक्षा अभियानलाई भिन्नै र उन्नतस्तरबाट सुरु गरेका थियौं । सामाजिक सुरक्षा एउटा उन्नत अवधारणा र अभ्यास हो । त्यसैले यसभित्र हाम्रा अभिभाराहरु हामीले उपयुक्त ढंगले बुझ्न जरुरी छ । सामाजिक सुरक्षा मानव जातिको भविष्यको सुरक्षा र सुरक्षाको सुनिश्चितताको हो,’ प्रधानमन्त्री ओलीको शुभकामना सन्देशमा भनिएको छ ।