Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँ महानगरका मेयर बालेनप्रति सरकारका प्रवक्ताको अमर्यादित अभिव्यक्ति

काठमाडौँ । संघीय सरकारको प्रवक्तासमेत रहेका संचार तथा सुचना प्रविधिमन्त्री पृथ्बी सुब्बा गुरुङले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहप्रति अमर्यादित अभिव्यक्ति दिएका छन् ।

कान्तिपुर टेलिभिजनको कार्यक्रम ‘फायर साइड’मा अन्तर्वार्ता दिने क्रममा मन्त्री सुब्बाले मेयर शाहलाई ‘तँ, कहाँको महाराज भयो’ भन्ने जस्ता शब्द प्रयोग गरेका हुन् ।

कार्यक्रम संचालक रुपेश श्रेष्ठले नेकपा एमालेले गत शुक्रबार काठमाडौँको दरबारमार्गमा आयोजना गरेको ‘जागरणसभा’मा कम मानिस आएको र एमालेले उल्टै १ लाख रुपैयाँ जरिवाना तिर्नु परेको प्रसंग उठाएपछि मन्त्री सुब्बाले अमर्यादित शब्द प्रयोग गरेका हुन् ।

एमालेको सो सभामा फोहोर भएको भन्दै काठमाडौँ महानगरले १ लाख रुपैयाँ जरिवाना तिर्न एमालेलाई पत्र पठाएको छ ।

यस्तो कार्यक्रम संचालक श्रेष्ठ र मन्त्री सुब्बाबीचको सवाल जवाफ

कार्यक्रम संचालकः तर, जनताले तपाईंहरुलाई पत्याएनन् क्या मन्त्रीज्यू ! कि पत्याए ?

मन्त्री सुब्बाः पत्याए नि, किन नपत्याउनु । पत्याए भन्ने प्रमाण के हुन्छ ? पत्याएनन् भन्ने प्रमाण के छ ?

कार्यक्रम संचालकः यहाँ त के भन्छन् भने नि ऊ जितेर गयो कि हारेर गयो, फोहोर सडकमा झारेर गयो । एक लाख मान्छे उतार्छु भन्थ्यो, एक लाख जरिवाना हात पारेर गयो ।

मन्त्री सुब्बाः त्यो बालेनको कुरा हो । तपाईंले त्यो कुरा ल्याएर भन्नुभएको छ । त्यल्ले अधिकार कहाँबाट पाएर ल्यायो हामीलाई एक लाख जरिवाना तिर भनेर त्यो मेयरले भन्न पाउँछ कहि ? 

कार्यक्रम संचालकः कुन मेयरलाई ?

मन्त्री सुब्बाः काठमाडौँको मेयरलाई । कहाँको चै महाराज भएछ त्यो ?

कार्यक्रम संचालकः उहाँले कानुन टेकेर लेख्नुभएको छ ।

मन्त्री सुब्बाः के कानुन टेकेर ? 

कार्यक्रम संचालकः पढ्नु भएको छैन पत्र ?

मन्त्री सुब्बाः कानुन त टेकिहाल्छ नि ।

कार्यक्रम संचालकः फोहोरमैला ऐनमा टेकेर उहाँले पत्र काट्नु भएको छ जरिवाना एक लाखको ।

मन्त्री सुब्बाः त्यही त । अहिले त के भयो भने बालेनले गू सोहोर्ने कुरा गरे पनि ठीक, बालेनले सुन फलाउने कुरा गरेपनि ठीक । त्यस्तै जमाना त आइसक्यो नि । 

कार्यक्रम संचालकः मन्त्रीज्यूको मुखबाट मैले यो अपेक्षा गरेको थिएन । तपाईं त मुख्यमन्त्री भइसकेको व्यक्ति । संघीय संरचना अनुरुप प्रदेशलाई, स्थानीय सरकारलाई उत्तिकै अधिकार दिनुपर्छ, बलियो बनाउनु पर्छ भन्ने । तपाईं त केपी ओलीसँग जोरी खोजेको नेता । आज तपाईं स्थानीय सरकारले आफ्नो अधिकार प्रयोग गरिरहदा यत्तिको शब्द प्रयोग गर्नुहुन्छ ?

मन्त्री सुब्बाः उहाँको अधिकार के हो ? उहाँको अधिकार कुनै पार्टीले सभा गर्दाखेरी चिठी लेख भन्ने अधिकार छ बालेनसँग ? 

कार्यक्रम संचालकः छैन ?

मन्त्री सुब्बाः कहाँ छ त ।

कार्यक्रम संचालकः सभा नगर भनेको होइन नि । हो त ?

मन्त्री सुब्बाः सभा गर्दाखेरी २/४ वटा प्लाष्टिक खस्दैन ? त्योभन्दा अगाडि कसलाई भनेको छ ?

कार्यक्रम संचालकः छ नि । राप्रपालाई २५ हजार जरिवाना तिराएको छ । काठमाडौँको मतदातालाई हिजो मात्रै २५ हजार जरिवाना तोकेको अर्काे सुचना छ । 

मन्त्री सुब्बाः त्यो त राम्रो कुरा हो । 

कार्यक्रम संचालकः ए, अरुलाई पाइयो, एमालेलाई पाइएन !

मन्त्री सुब्बाः मैले कहाँ भनेको छु त्यस्तो ?

कार्यक्रम संचालकः भर्खर भन्नुभयो ।

मन्त्री सुब्बाः कहाँ भने ?

कार्यक्रम संचालकः भर्खर ।

मन्त्री सुब्बाः जुन चै ढंगले, नागरिकको स्वतन्त्रताको हकमा उल्लघन गर्ने ढंगले जुन चै लेखेको छ, त्यो त अपमान नै गरेको हो भन्ने अर्थमा भनेको हो मैले । 

कार्यक्रम संचालकः नेकपा एमालेको अपमान भयो ?

मन्त्री सुब्बाः कार्यक्रम गर्न पाउँदैन ? जुलुस गर्न पाइदैन यो लोकतन्त्रमा ? उहाँले सक्ने भए त त्यो पनि रोक्ने थियो ।

कार्यक्रम संचालकः पाइन्छ तर फोहोर गर्न त पाइएन नि ! मन्त्रीज्यू, फोहोर गर्न त पाइदैन नि ।

मन्त्री सुब्बाः फोहोर गर्न पाइदैन । 

कार्यक्रम संचालकः जरिवाना तिर्छ एमालेले ?

मन्त्री सुब्बा: अब त्यो त मैले होइन, कमिटीले भन्ला । म यहाँ सरकारको तर्फबाट बोल्न आएको । पार्टीको तर्फबाट होइन । 

कार्यक्रम संचालक (हास्दै): तपाईं उपमहासचिव पनि हुनुहुन्छ भनेर ।

मन्त्री सुब्बा (हास्दै): उपमहासचिव त उपमहासचिवकै बेला उत्तर दिउला नि मैले ।

प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१  ११:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update