Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय तह उपनिर्वाचन : लाउड स्पिकर बजाएर चुनावकाे प्रचार गरे कारबाही हुने 

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालना गर्न सबैमा अनुरोध गर्दै अन्यथा कारबाही हुने चेतावनी दिएको छ । आसन्न स्थानीय तह उपनिर्वाचनमा आचारसंहिता पालना गर्न सचेत गराएको आयोगले यसको पालना गर्न/गराउन  राजनीतिक दल, उम्मेदवार र सम्बन्धित निकायलाई समेत निर्देशन दिएको छ । 

यही मंसिर १६ गते ३२ जिल्लाका ३८ स्थानीय तहमा ४१ पदका लागि उपनिर्वाचन हुँदै छ । ३७६ उम्मेदवार  चुनावी प्रतिस्पर्धामा छन् । यही मंसिर १६ गतेदेखि चुनावी प्रचारप्रसार सुरु भइसकेको छ । 

यसरी चुनावी प्रचार प्रसारमा आचारसंहिताविपरीतका कार्य नगर्न नगराउन आयोगले आग्रह गरेको हो । अन्यथा जरिमानासहित कारबाही गरिने आयोगको चेतावनी छ । आचारसंहिता पालना गर्न गराउन र गरेमा कारबाही हुनेबारे आयाेगले आइतबार नै सम्बन्धित सबैलाई जानकारी गराइसकेकाे छ ।

सवारी साधनमा लाउड स्पीकर समेतको प्रयोग गरी निर्वाचन प्रचार प्रसारका कार्यहरू भइरहेको भन्ने सूचना आएको भन्दै आयोगले यस्ता सवारीसाधन कब्जामा लिई आवश्यक कानुनी कारवाही गर्न स्थनीय प्रशासनलाई निर्देशन दिई सकेको आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् । 

निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २५ (१) मा निर्वाचन प्रचारप्रसारको सिलसिलामा राजनीतिक दल वा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले आयोगले तोकेको संख्याभन्दा बढी र आयोग वा निर्वाचन अधिकृतले अनुमति दिएकोबाहेक अन्य सवारीसाधन प्रयोग गर्न वा गराउन पाइँदैन । 

तर, यस प्रावधानविपरीतको कार्य गर्नेलाई आयोग, निर्वाचन अधिकृत वा अनुगमनकर्ताले २५ हजार रुपैयाँ जरिमाना गर्न सक्ने र आचारसंहिताविपरीत प्रयोग भएको सवारीसाधन निर्वाचन अवधिभरको लागि नियन्त्रणमा लिन सक्ने आयोगले भनेको छ । 

प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१  १२:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update