काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिकाको मेयरमा चारपक्षीय प्रतिस्पर्धा हुन सक्ने देखिएको छ । यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकाको मेयरमा तीन दलीय उम्मेदवार र एक स्वतन्त्र उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
कीर्तिपुर नगरपालिको मेयर पदमा कांग्रेसका कृष्णमान डंगोल, एमालेकाडा. सुरेन्द्र मानन्धर, माओवादी केन्द्रबाट प्रा.डा. शिवशरण महर्जन र स्वतन्त्र उम्मेदवार राजमान महर्जनबीच कडा प्रतिस्पर्धा हुने देखिएको हो ।
कीर्तिपुरको निर्वाचनलाई कांग्रेस, एमाले र माओवादी केन्द्रले आफ्नो प्रतिष्ठाकै विषय बनाएर प्रचार प्रसारमा खटिरहँदा नेवाः लहना विश्व सरसफाइ अभियानका अभियन्ता उम्मेदवार राजमानको प्रचारमा धरान उपमहानगरका मेयर हर्क साम्पाङ कीर्तिपुर आएर भोट मागेका छन् ।
प्रमुख तीन दलका उम्मेदवारलाई क्षमतावान मानिएको छ भने सरसफाइ अभियान चलाएका स्वतन्त्र उम्मेदवार राजमानप्रति कीर्तिपुरवासीको आशा रहेको देखिन्छ । केही दिनयता साम्पाङ कीर्तिपुर आएर राजमानको चुनावी सभा र घरदैलो कार्यक्रममा सहभागी भएर भोट मागिरहेका छन् । जसले गर्दा राजमानको पक्षमा वातावरण बन्न सहयोग पुगेको देखिन्छ ।
साथै, स्वतन्त्र उम्मेदवारहरू नवरथकुमार बानिया, कविकुमार महर्जन, दिनेशकुमार अधिकारीसहितका उम्मेदवारले पनि आफ्नो प्रभाव पार्ने प्रयास गरिरहेका छन् । उनीहरुको उपस्थितिलाई दलीय प्रतिस्पर्धालाई चुनौतीपूर्ण बनाइदिएको छ ।