Odapalika - The Fourth Estate - चौथो अंग
सामाजिक सुरक्षा कोषमा आबद्धता बढाउन सरकारले ठोस र विशेष योजना ल्याउनुपर्छः  अध्यक्ष डा बद्री केसी

काठमाडौँ । गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीले सरकारले कुनै ठोस योजना र कार्यक्रम ल्याउन नसक्दा बैदेशिक रोजगारीमा रहेका र विदेशमा अनौपचारिक क्षेत्रमा रहेको ठूलो संख्या अझै पनि सामाजिक सुरक्षा कोषको दायराभन्दा बाहिर रहेको बताएका छन् ।

सामाजिक सुरक्षा कोषले सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा  आयोजना गरेको कार्यक्रम शुभकामना मन्तव्य राख्दै अध्यक्ष डा केसीले सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन सरकारले ठोस योजना  र अभिमुखिकरण कार्यक्रम गर्नुभन्दा पनि औपचारिकता र विदेश जानुपूर्वको अनिवार्य प्रक्रियाको रुपमा मात्रै सञ्चालन गर्दा विदेशमा रहेका श्रमिकहरुले यस कोषको महत्व नै बुझन नसकेको बताएका हुन् ।

‘आजभन्दा तीन वर्षअघि नै गैरआवासीय नेपाली संघ र सामाजिक सुरक्षा कोषले मिलेर बढीभन्दा बढी श्रमिक र विदेशमा अनौपचारिक क्षेत्रमा रहेकाहरुलाई यस कोषमा समेट्ने सहमति नै गर्दा पनि आजसम्म एउटा पनि काम गर्न सकिएको छैन । एउटा पनि काम भएको छैन । यो विदेशमा जानुपूर्व पैसा तिरेर अनिवार्य गर्नैपर्ने प्रक्रियाको रुपमा मात्रै सञ्चालन भइरहेको छ । त्यसैले त ५० लाख बढी ब्राह्य श्रम बजारमा हुँदा पनि १२ लाख मात्रै यस कोषमा आबद्ध भएका छन् र अझ दुखको कुरा जति नेपालबाट जाँदा आबद्ध भएका थिए ती सबैले कोषमा निरन्तर योगदान गरेका छैनन् रिन्यू गर्नेको संख्या निकै कम छ । कोष स्थापना गर्नु ठूलो कुरा होइन यस्ता कोषको प्रभावकारी कार्यान्वयन हुनु जरुरी छ । श्रमिकलाई यसका फाइदाबारे बुझाउन जरुरी छ,’ अध्यक्ष केसीले भने ।

सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने मात्रै नभई कोषमा निरन्तर रुपमा टिकाइराख्न सरकारले विशेष योजना बनाउनुपर्नेमा अध्यक्ष डा केसीले जोड दिए । उनले कोषमा जम्मा भएको रकम नेपालको विकासका लागि  लगानी गर्न सक्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराए ।

विदेशमा रहेका नेपाली श्रमिकलाई यस कोषमा आबद्ध हुँदाका फाइदाहरुबारे जानकारी गराउनुपर्नेमा जोड दिँदै उनले श्रमिकलाई नबुझाई यस कोषमा आबद्धता बढाउन नसकिने धारणा व्यक्त गरे । 

प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१  १५:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update