Odapalika - The Fourth Estate - चौथो अंग
वडाध्यक्ष रिजालको पार्थिव शरिर १२ बजेसम्म सभागृहमा, त्यसपछि पशुपतिमा अन्त्येष्टि गरिने 

काठमाडौँ । बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएका काठमाडौंँ महानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष मुकुन्द रिजालको पार्थिव शरिरलाई श्रद्धाञ्जलीका लागि दिउँसो १२ बजेसम्म राष्ट्रिय सभागृहमा राखिने भएको छ । 

११ बजेदेखि १२ बजेसम्म राष्ट्रिय सभागृहमा र १२ः३० बजेदेखि १ः३० बजेसम्म पशुपति मन्दिर परिसरमा श्रद्धाञ्जलीका लागि राखिने नेपाली कांग्रेसका कार्यालय सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । त्यसपछि आज दिउँसो २ः३० बजे दाहसंस्कार गर्ने कार्यक्रम रहेको पौडेलले जानकारी दिए ।

उनको निधनबाट नेपाली कांग्रेसले एक होनाहार नेतृत्वलाई गुमाएको कार्यालय सचिव पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । रिजालको निधनप्रति नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पनि दुःख व्यक्त गरेका छन् ।

नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा पुर्याएको सक्रिय योगदानको स्मरण गर्दै सभापति देउवाले रिजालप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

रिजाल गत स्थानीय तह निर्वाचनमा ४००५ मतका साथ अध्यक्षमा विजयी भएका थिए । उनले नेकपा एमालेका लक्ष्मीरत्न तुलाधरलाई पराजित गरेका थिए ।

सुरुमा डेंगीबाट निधन भएको बताइएपनि चिकित्सकहरुले भने भाइरल निमोनियबाट उनको निधन भएको औपचारिक पुष्टि गरेका छन् । रिजालप्रति श्रद्धाञ्जली व्यक्त गर्न र परिवारप्रति सहानुभूति जनाउन मेयर बालेन शाह, उपमेयर सुनिता ढंगोललगायत ग्राण्डी अस्पताल पुगेका छन् । 

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  ११:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update