काठमाडौँ । सामाजिक सुरक्षा कोषको दायरा व्यापक विस्तार भएको छ । कोषले स्वास्थ्य सुविधाको दायरा विस्तार गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सातौं सामाजिक सुरक्षा दिवसको उपलक्ष्यमा आयोजित एक औपचारिक कार्यक्रममा कोषले प्रदान गर्ने स्वास्थ्य सुविधाको दायरा व्यापक विस्तार भएको घोषणा गरे । नयाँ सुविधा अनुसार अब सामाजिक सुरक्षा कोषमा आवद्ध भएका व्यक्तिका श्रीमान् वा श्रीमती तथा छोराछोरीले पनि स्वास्थ्य सुविधा पाउने भएका छन् ।
यसअघि कोषमा आवद्ध भएका व्यक्तिका श्रीमान वा श्रीमतीले मात्रै स्वास्थ्य सुविधा पाउने व्यवस्था थियो । यो सुविधा पनि वार्षिक १ लाख रुपैयाँसम्म मात्रै थियो भने ओपिडी (अस्पताल भर्ना नभइ हुने उपचार) को हकमा वार्षिक २५ हजार र आइपिडी (अस्पतालमा भर्ना भएर गरिने उपचार) मा ७५ हजार गरी जम्मा १ लाख रुपैयाँसम्मको उपचार सुविधा कोषबाट प्राप्त हुने व्यवस्था थियो । तोकिएको यो खर्चमा कोषले ८० प्रतिशत र सम्बन्धित योगदानकर्ता वा उसको श्रीमान वा श्रीमतीको उपचारमा २० प्रतिशत रकम तिरे पुग्ने व्यवस्था थियो । उपचार भने कोषले सुचिकृत गरेका अस्पतालमा गराउनु पर्नेछ भने शुल्कको दर पनि कोषले तोके अनुसार हुन्छ ।
प्रधानमन्त्रीले गरेको नयाँ घोषणा अनुसार अब योगदानकर्ता तथा उसको श्रीमान वा श्रीमतीका साथै छोराछोरीले पनि वार्षिक १ लाख रुपैयाँसम्मको औषधी उपचार २० प्रतिशत रकम तिरेर गर्न पाउने भएका छन् ।
प्रधानमन्त्री ओलीले गरेको अर्काे नयाँ घोषणा भनेको १ लाख रुपैयाँभन्दा बढीको खर्चमा पनि कोषबाट सुविधा पाइने भन्ने हो । नयाँ घोषणा अनुसार अस्पताल भर्ना भएर उपचार गर्नुपर्ने भएमा १ लाख रुपैयाँभन्दा बढीको खर्चमा कुल खर्चको ५० प्रतिशत रकम कोषले व्यहोर्ने छ । यो पनि कोषमा सुचिकृत भएका अस्पतालहरुमा कोषले तोकेको दरमा हुनेछ ।
यस्तो खर्चको सीमा १० लाख रुपैयाँसम्म रहेको कोषका निर्देशक उत्तम नेपालले जानकारी दिए ।
‘आइपिडी सेवामा एक लाख रुपैयाँभन्दा बढी खर्च भयो भने जति खर्च भएको हुन्छ त्यसको ५० प्रतिशत रकम कोषले व्यहोर्छ । अर्थात १० लाख रुपैयाँ खर्च भयो भने कोषले ५ लाख रुपैेयाँसम्म व्यहोर्ने भयो । युनिर्भस हेल्थ कभरेजको लागि यो असाध्यै महत्वपूर्ण कदम हो,’ निर्देशक नेपालले वडापालिकासँग भने ।
प्रधानमन्त्री ओलीले आज सामाजिक सुरक्षा दिवसको उपलक्ष्यमा घोषणा गरेको यी दुई नयाँ कार्यक्रम अबको ३ महिनापछि लागू हुनेछ ।