काठमाडौँ । बुटवल उपमहानगरपालिकामा डेङ्गी खोज र नष्ट गर अभियान शुरु भएको छ । स्वास्थ्य कार्यालय रूपन्देही, बुटवल उपमहानगरपालिका, टोल विकास संस्थाहरूसँगको सहकार्यमा बुटवल उपमहानगरपालिका वडा नं ५ का सम्भावित जोखिमयुक्त क्षेत्रमा डेङ्गीको लार्भा खोज र नष्ट गर अभियान शुरु गरिएको हो ।
बुटवलको मुख्य हाटबजार र तिनाउ नदी किनारको बस्ती रहेको ५ नम्बर वडा डेङ्गी संक्रमणको सम्भावित जोखिमयुक्त क्षेत्र भएकोले डेङ्गीको लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गरिएको बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखाकी जनस्वास्थ्य निरीक्षक कल्पना पाण्डे भुसालले बताइन् । यो अभियान दुई दिनसम्म चल्ने उनको भनाइ छ ।
स्वास्थ्य कार्यालय रूपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जिल्लाका सिद्वार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिकालगायतका पालिकामा अभियान सञ्चालन भइसकेको जानकारी गराउँदै बुटवल पनि सम्भावित जोखिमयुक्त क्षेत्र भएकोले यो अभियान सञ्चालन गरिएको बताए ।
अभियानका क्रममा डेङ्गी फैलनसक्ने सम्भावित स्थान, नष्ट गर्ने तरिकाबारे जानकारी मुलक पर्चा पम्प्लेट बितरण गर्नुका साथै डेङ्गी संक्रमण गराउने लार्भा नष्ट गरिएको उनको भनाइ छ ।