Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँ महानगरपालिकाको निःशुल्क भिडियो एक्स–रे सेवा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आउँदो हप्तादेखि निःशुल्क भिडियो एक्स–रे सेवा सुरु गर्ने भएको छ । स्वास्थ्य बीमा कार्यक्रम लागू भएका वडाका स्वास्थ्य प्रवर्धन केन्द्रमा सेवा सुरु गर्न लागेको हो । 

प्रारम्भमा वडा नं. १२, २६ र ३० बाट सेवा दिइनेछ । आइतबार र सोमबार वडा नंं १२, १९ र १४ का सेवाग्राहीका लागि वडा नं. १२ मा, मंगलबार र बुधबार वडा नं. १६, २६ र २७ का सेवाग्राहीका लागि वडा नं. २७ मा र विहीबार र शुक्रबार वडा नं. १० र ३० का सेवाग्राहीका लागि वडा नं. ३० स्वास्थ्य प्रवर्धन केन्द्रमा भिडियो एक्स रे गरिनेछ । 

स्वास्थ्य बीमा कार्यक्रम लागू भएका सबै वडामा भिडियो एक्स–रे मेसिन राखिएको छ । सेवाग्राहीको चाप बढ्दै गएपछि सेवा विस्तार गर्दै लैजाने स्वास्थ्य विभागको योजना छ । 

महानगरपालिकाले वडा नं. ८ को रामघाट प्राथमिक स्वास्थ्य केन्द्र, वडा नं. १४ बल्खु, वडा नं. १९ कंकेश्वरी, वडा नंं २६ लैनचौर र वडा नं. ३० ज्ञानेश्वर, वडा नं. १६ बालाजु, वडा नं. २७ महावौद्ध, वडा नं. १२ टेकु र वडा नं. ७ चावहिलको स्वास्थ्य प्रवर्धन केन्द्रलाई पहिलो सम्पर्क विन्दुका रुपमा तोकेको काठमाडौँ महानगरले जनाएको छ । यीमध्ये ५ बीमा बोर्डबाट अनुमोदन भइसकेका छन् भने ५ वटा अनुमोदनको प्रक्रियामा छन् । 

नसर्ने रोग पहिचान गर्न जाँच

स्वास्थ्य विभागले नसर्ने खालका रोगको पहिचानका लागि मधुमेह, उच्च रक्तचाप र दीर्घ मिर्गौला रोगको जाँच सुरु गरेको छ । मंगलबार महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले एकल सेवा केन्द्रमा रक्तचाप जाँच गरेर कार्यक्रम थालनी गरेका हुन् । 

स्वास्थ्य विभागका प्रमुख दिपक केसीका अनुसार निदानात्मक स्वास्थ्य सेवाको प्रवर्धनका ५० हजार व्यक्तिको स्वास्थ्य परीक्षण गरेर अवस्था आँकलन गर्ने तथ्याङ्क तयार पार्ने र त्यसले देखाएको अवस्थाका आधारमा थप कार्यक्रम तर्जुमा गर्ने महानगरपालिकाको योजना छ । 

विभागले हरेक महिनालाई सचेतना अभिवृद्धि गर्ने विशेष महिनाका रुपमा कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रमअन्तर्गत गएको वैशाख महिनामा दृष्टि(आँखा तथा वातावरण), ज्येष्ठ महिनामा मुख तथा नाक, काम घाँटी, असारमा ज्येष्ठ नागरिक तथा अपाङ्गता सहायता, साउनमा नवजात र बालबालिका स्वास्थ्य, पोषण तथा स्तनपान, भदौमा उच्च रक्तचाप, असोजमा मधुमेह तथा मोटोपना र कार्तिकमा स्वस्थ्यकर खानापान तथा आरोथ्य जीवन सचेतना महिनाका रुपमा निदानात्मक कार्यक्रम सञ्चालन भएका छन् । 

मंसिरमा मिर्गौला तथा अन्य जटिल दीर्घ रोग, पुसमा श्वाशप्रश्वास तथा अन्य जटिल दीर्घ रोग, माघमा पादक पदार्थ तथा सडक दुर्घटना, फागुनमा क्यान्सर तथा प्रजनन स्वास्थ्य र चैत महिनामा मानसिक स्वास्थ्य सम्बन्धी सचेतनाका कार्यक्रम सञ्चालन गरिनेछन् । 

जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठकाअनुसार आर्थिक वर्ष २०७९/०८० को संघीय स्वास्थ्य विभागको प्रतिवेदनले, ७१ प्रतिशत मृत्यृ दरको कारण नसर्ने रोग हो भनेर देखाएको छ । यसमा क्यान्सर, मिर्गौला सम्बन्धी दीर्घ रोग, मधुमेह, उच्च रक्तचाप मुख्य समस्या हुन् । 

व्यक्तिले नसर्ने रोगको उपचारका लागि ३७ प्रतिशत (आउट अफ पकेट एक्पेन्डिचर–ओओपि) खर्च गरिरहेको छ । समयमा रोगका विषयमा जानकारी प्राप्त गर्न सकियो भने यो खर्च घटाउन सकिन्छ । रोगले समस्या सिर्जना गरे उपचारमा जानु पर्‍यो भने सुरुमै धेरै खर्च लाग्छ । त्यसपछि पनि औषधिमा नियमित खर्च गर्नुपर्छ । व्यक्ति र परिवारको उत्पादनशीलता घट्छ । यसकारण नसर्ने रोगले सिर्जना गर्ने खर्च घटाउन निदानात्मक र प्रवर्धनात्मक कार्यक्रम आवश्यक छ । 

जनप्रतिनिधि र कर्मचारीको स्वास्थ्य बीमा 

स्वास्थ्य विभागले मंसिर मसान्तभित्र महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको बीमा दर्ता गरिसक्ने योजना महानगरले बनाएको छ । त्यसका लागि दर्ता सहयोगीलाई अभिमुखीकरण प्रदान गरेको छ । 

मंसिरमा दर्ता सकिएपछि फागुनबाट कार्यक्रम कार्यान्वयनमा आउनेछ । महानगरपालिकाभित्र अहिले १ लाख परिवार दर्ता भएका छन् । यसमा करिब ४ लाख व्यक्ति समेटिने अनुमान गरिएको छ । बीमा कार्यक्रम सुरु भएका वडामा बिरामीको चाप बढ्दै गएको छ । 

महानगरपालिकाले २०८० पुसमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्नका लागि स्वास्थ्य बीमा बोर्डसँग समझदारी पत्रमा हस्ताक्षर गरेर कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।
 

प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१  ११:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update