काठमाडौँ । स्थानीय तहको निर्वाचन आउन अब केही दिनमात्र बाँकी रहँदा चुनावी प्रचारप्रसारलाई उम्मेदवारहरुले तीव्रता दिएका छन् ।
यही मंसिर १६ गते ३२ जिल्लाका ३८ स्थानीय तहमा रिक्त ४१ पदका लागि हुने उपनिर्वाचनको बिहीबार (मंसिर १३) सम्म प्रचारप्रसार गर्न पाउनेछन् । जस कारण उम्मेदवारहरुले चुनावी प्रचारलाई तीव्रता दिएका हुन् ।
काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा पनि वडाध्यक्ष पदका लागि निर्वाचन हुँदै छ । २०७९ सालमा भएको निर्वाचनमा कांग्रेसका मुकुन्द रिजाल निर्वाचित भएका थिए । उनको निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो ।
कांग्रेस विरासत जोगाउने कसरतमा, एमालेलाई रास्वपाको डर
काठमाडौँ महानगरपालिका वडा नम्बर १६ को वडाध्यक्षमा आफ्नो उम्मेदवारलाई निर्वाचित गरेर आफ्नो विरासत जोगाउन कांग्रेसले प्रयास गरिरहेको छ । यस वडामा २१ हजार मतदाता छन् ।
२०७९ को स्थानीय तह निर्वाचनमा आफ्नो निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार लक्ष्मीरत्न तुलाधरलाई ७१८ मतले पछि पार्दै कांग्रेसका रिजाल निर्वाचित भएका थिए । रिजालले ४ हजार १८ मत ल्याएर वडाध्यक्षमा निर्वाचित हुँदा एमालेका तुलाधरले ३ हजार ३१० मत ल्याएर पराजित भए ।
कांग्रेस र एमालेका उम्मेदवारलाई पछ्याएका नेकपा एकीकृत समाजवादीका लक्ष्मण गमालले १ हजार ५८९ र राप्रपाकी विन्दिका गुरुङले ५५७ मत ल्याएका थिए । २०७९ सालको निर्वाचनमा यहाँ ४ जना स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा थिए र तर, उनीहरुले कूल ५६३ मत पाएका थिए ।
अहिले कांग्रेसका देवेन्द्र पाठक, एमालेका लक्ष्मीरत्न तुलाधर, राष्ट्रिय स्वतन्त्र पार्टीकी रोजिना श्रेष्ठ, एकीकृत समाजवादीका मीनमान मानन्धर, राप्रपाबाट श्यामकृष्ण श्रेष्ठलगायतका उम्मेदवार काठमाडौं वडा नम्बर १६ को नेतृत्व लिन दौडमा छन् । तर, कांग्रेसले आफ्नो विरासत जोगाएर पाठकलाई निर्वाचित गराइछाड्ने अठोटमा छ ।
तर, एमालेले यसपटक कांग्रेस उम्मेदवारभन्दा पनि रास्वपा उम्मेदवारलाई प्रतिस्पर्धीको रुपमा लिन थालेको छ । यसअघि २०७९ सालको निर्वाचनमा वडा सदस्यमा आफ्नो उम्मेदवार हर्कबहादुर खातीसँग पराजित पाठकलाई कांग्रेसले उम्मेदवार बनाएको भन्दै एमालेले सजिलै पराजित गर्न सकिने अनुमान गरेको छ । फेरि त्यत्तिखेर एमाले परित्याग गरेर एकीकृत समाजवादीमा गएकाहरु अहिले एमालेमै फर्किएकाले कांग्रेस उम्मेदवारलाई हराउन सजिलै सकिने एमालेको निष्कर्ष छ । तर, एमालेले रास्वपालाई आफ्नो निकट प्रतिस्पर्धीको रुपमा हेरेको छ ।
यहाँ कांग्रेस र एमाले मुख्य प्रतिस्पर्धी भए पनि यी दुई दललाई अन्य दलले चुनौती दिने देखिन्छ । विशेषगरी रास्वपाले पनि आफ्नो प्रतिष्ठाको विषय बनाएकाले पनि कांग्रेस र एमाले उम्मेदवारलाई चुनौती दिने देखिन्छ । केही स्वतन्त्र उम्मेदवारले रास्वपाकी रोजिना श्रेष्ठलाई समर्थन गर्ने घोषणा गरेका छन् ।
रास्वपाका गणेश पराजुली प्रतिनिधिसभा निर्वाचित क्षेत्र काठमाडौँ क्षेत्र नम्बर ७ मा पर्ने यो वडाकै बनस्थलीमा पार्टी कार्यालयसमेत रहेकाले रास्वपाले आफ्नो उम्मेदवारलाई निर्वाचित गराउन भरपूर प्रयास गर्नेछ ।
काठमाडौँ वडा नम्बर १६ मा रोजिनाको जितलाई आफ्नो प्रतिष्ठा ठानेर रास्वपाले सोहीअनुसार चुनावी प्रचारप्रसार गरिरहेको छ । जस कारण एमालेले आफ्नो उम्मेदवारलाई रास्वपाले उम्मेदवारले चुनौती थपिने आंकलन गरेको छ ।