Odapalika - The Fourth Estate - चौथो अंग
देश बढारी भ्याएर दल बढार्न घरघर हिँडेका मानव

काठमाडौँ । बल्खु चोकबाट अघि बढेर कीर्तिपुरका बजार, चोक र फाँट जता छिरे पनि घरघर र पसलमा एउटा मान्छेको चर्चा छ अचेल । ती हुन राममान मानव । 

नेवा लहना लेखेको ठीक मुनि एउटा लोगो भएको पहेँलो ज्याकेट लगाएर फोहोर बटुल्दै हिड्थे मानव केही अघिसम्म । 

अहिले उनमा एउटा दायित्व थपिएको छ– केही सहयोगी अघि पछि लगाउने । एउटा ब्रुमर, केही थान पर्चा र राष्ट्रिय झण्डा सहित हात हल्लाउँदै भोट माग्ने । 

१६ मंसिरमा हुने निर्वाचन आउन केही दिन बाँकी छ । तर उनी केटा र केटी चुनाव चिन्हमा भोट माग्दै एउटा अभियानमा जुटेका छन्, कीर्तिपुरका टोल सडकका फोहोर मात्र होइन अब राजनीतिका फोहोरलाई पनि सर्लक्क वढारेर फाल्छु । 

काठमाडौँदेखि जनकपुर हुँदै सूदुरपश्चिमसम्म सरसफाइ अभियान चलाएर हिड्ने उनी यतिबेला कीर्तिपुर नगरपालिकाको मेयर बनेर जनताको सेवा गर्ने प्रतिवद्धता पत्र बोकेर हिँडेका छन् । साथमा छन् धारन उपमहानगरपालिकाका मेयर हर्क साम्पाङदेखि स्वतन्त्र अभियानमा जोडिएका थुप्रै अभियन्ता । 

मानव भन्छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले पनि मलाई भोट माग्ने कुरो छ, बालेनजी (वालेन्द्र शाह)को त समर्थन हुने नै भयो । थप बलियो कुरा के भने मेरा पछि कीर्तिपुरका सिंगो मतदाता छन्, ढुक्कले जित्छु ।’

स्वतन्त्र उम्मेदवारी दिएर लावा लस्करसहित भोट माग्दै हिडेका मानवमा जति कन्फिडेन्स दलले अघि सारेको उम्मेदवारमा पनि  छ । तर उनीहरुलाई के लागिरहेको छ भने राजमान मानवले यसपटक समस्या पार्छ जस्तो छ । 

mmmm-1732690689.jpg
यहाँ सत्तारूढ दल कांग्रेस र एमाले नै एक अर्कासँगको प्रतिपस्र्धी ठान्छन् । तर माओवादी केन्द्र भने नेकपा एसलगायतका दलको साथ लिएरस मेयरका लागि भोट मागिरहेको छ । राप्रपाका उम्मेदवार पनि सडक र घरदैलो मै छन् । 

कीर्तिपुर नगरको मेयरका लागि एमालेका तर्फबाट सुरेन्द्र मानन्धर, कांग्रेसबाट कृष्णमान डंगोल, माओवादी केन्द्रका तर्फबाट प्राडा. शिवशरण महर्जन, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट ध्रुव महर्जन मैदानमा छन् ।

दलहरुले कांग्रेस, एमाले र माओवादी केन्द्रका बीचमा मुख्य प्रतिस्पर्धा छ भने पनि स्वतन्त्र उम्मेदवार मानवले दलका उम्मेदवारलाई गज्जवले  टक्कर दिने स्थानीयबासीको दाबी छ । 

२०७९ सालको निर्वाचनमा तेस्रो स्थानमा रहेको माओवादी केन्द्रका उम्मेदवार महर्जनले आफ्नो जीत सुनिश्चित भएको दाबी गरेपनि मानवले भोट काटिदिने विषय लुकाउँन चाहदैनन् । उनीजस्तै एमाले र कांग्रेसका नेता पनि मानवलाई नै प्रतिस्पर्धी देख्न थालिसकेका छन् । 

यसका पछि धरानका मेयरको चुनाव्ी अभियानलाई साथ मात्र छैन, कीर्तिपुरका हरेक घर र मतदाताले चिन्ने र नजिकबाट सहयोग पाएको व्यीक्तका रुपमा मानव अघि देखिएका छन् । 

नगरप्रमुख साम्पाङले कीर्तिपुर पुगेर स्वतन्त्र उम्मेदवार मानवसँगै घरदैलो गर्दैछन् । घरदैलोका क्रममा उनले मानव कीर्तिपुरको विकासका लागि काम गर्ने खालको मान्छे लागेकाले सघाउनका लागि आफू आएको बताए ।

कीर्तिपुरलाई एमालेको बलियो आधारक्षेत्रका रूपमा बुझ्ने गरिन्छ । तर, सत्तारूढ दल कांग्रेस र एमालेकै बीचमा मित्रवत प्रतिस्पर्धा हुन थालेपछि त्यसको फाइदा माओवादी र स्वतन्त्र उम्मेदवार मावनले उठाउने देखिदै गएको छ । 

२०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेको गढ भत्काउँदै कांग्रेसका उम्मेदवार राजकुमार नकर्मी निर्वाचित भएका थिए । नकर्मी ९ हजार ४३ मत ल्याएर विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार केशवरत्न बज्राचार्यले ५ हजार ५०७ मत ल्याएका थिए । तेस्रो स्थानमा माओवादी केन्द्रका उम्मेदवार प्राडा शिवशरण महर्जनले ४ हजार ९० मत पाएका थिए ।

एमालेको बलियो आधार क्षेत्र मानिए पनि पार्टी विभाजन भएकाले गत निर्वाचनमा कांग्रेसले बाजी मा¥यो । एमालेबाट विभाजन भएर गठन भएको एकीकृत समाजवादीका नेता बटुककृष्ण थापा गत निर्वाचनमा नगरप्रमुखका उम्मेदवार थिए । थापाले १ हजार १५३ मत पाएका थिए । 

गत निर्वाचनमा एकीकृत समाजवादीकै उम्मेदवार थापासहितका नेताहरू एमालेमा फर्किसकेकाले आफ्नो विरासत जोगाउने कसरतमा एमाले रहेको देखिन्छ । 

माओवादीबाट उम्मेदवार रहेका महर्जन पनि निष्कलंक र बौद्धिक व्यक्ति भएकाले उनले यसपटक उल्लेख्य मत बढाउन सक्ने माओवादीका कार्यकर्ता बताउँछन् । 
 

प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१  १२:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update