काठमाडौँ । १६ मंसिरमा स्थानीय तहका रिक्त ४४ पदमा उपनिर्वाचन हुँदैछ । प्रमुख, उपप्रमुख, अध्यक्ष उपाध्यक्ष, जिसस प्रमुख र वडाअध्यक्षका पदमा हुन लागकेो निर्वाचनमा उम्मेदवारहरु आफ्ना चुनावी प्रतिवद्धता बोकेर मतदाताको घरदैलोमा व्यस्त छन् ।
प्रमुख र अध्यक्ष पदका उम्मेदवारले पालिकाको विकास निर्माणका एजेण्डा अघि सारेर चुनावी प्रचारमा होमिएका छन् ।
तर आर्थिक अधिकारसमेत नभएका वडाअध्यक्षहरु भने राजनीतिक एजेण्डा अघि सार्दै मतदाताको घरदैलोमा पुगिरहेका छन् ।
स्थानीय सरकार संचालन ऐनले वडाअध्यक्षलाई जम्मा ७ वटा काम कर्तव्य र अधिकार दिएको छ । त्यसमा वडाका विकासे योजना बनाउने देखि लिएर विभिन्न प्रकारका सिफारिस गर्नेसम्म हो ।
तर उपनिर्वाचनमा होमिएका देशभरका वडाअध्यक्षका आकांक्षी भने योजना अघि सार्नेभन्दा दल अनुसारका राजनीतिक एजेण्डा अघि सारेर मतदाताका घरघर पुगेका छन् ।
महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ मा हुन लागेको उपनिर्वाचनको सरगर्मी बढेको छ ।
उम्मेदवारहरु मतदातालाई आफ्नो पक्षमा पार्न मतदाताका घरआँगनमा पुगेका छन् । मौन अवधि सुरु हुन लागेका बेला आफ्ना प्रतिवद्धतासहित उनीहरु चुनावी मैदानमा छन् ।
प्रचारप्रसारमा जुटेका उनीहरूले मधेस मामिला उजागर गर्दै विभेदविरुद्ध उभिएको र विकास–निर्माणलाई नै केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता मतदातासमक्ष व्यक्त गरिरहेका छन् ।
काठमाडौँ महानगरपालिकाको वडा नम्बर १६ होस या कीर्तिपुर नगरपालिकाको वडा नम्बर १ र ४, प्रतिस्पर्धामा रहेका सबै उम्मेदवारहरु वडाको विकास निर्माणमा भन्दा राजनीतिक एजेण्डा नै अघि सारेर भोट माग्दै घरदैलो गरिरहेको स्थानीयवासी बताउँछन् ।
उता गोरखा नगरपालिका वडा नम्बर ५ का उम्मेदवारले पनि स्थानीय विकासका एजेण्डालाई भन्दा बढी राजनीतिक एजेण्डालाई प्राथमकिता दिएको स्थानीयको गुनासो छ ।
२ वटा जिल्ला समन्वय समिति प्रमुख र १ वटा वडाध्यक्ष निर्बिरोध निर्वाचित भइसकेका छन् भने ती बाहेकका स्थानमा उनिर्विाचन हुँदैछ ।