काठमाडौँ । १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनमा दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा १६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
उपाध्यक्ष पदका लागि ७ राजनीतिक दलका उम्मेदवार मैदानमा छन् भने ९ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएर चुनावी अभियान चलाइरहेका छन् ।
पालिकाका वडा वडामा राजनीतिक दलका उम्मेदवार भन्दा स्वतन्त्र उम्मेदवारहरु वढी पुगिरहेको स्थानीको भनाइ छ ।
यहाँ नेकपा एमालेबाट उमा लुंगेली मगर शेर्पा, नेपाली कांग्रेसबाट पासदिकी तामाङ, नेकपा माओवादी केन्द्रबाट निम लेकी शेर्पा उम्मेदवार छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोमा श्रेष्ठ राप्रपाका उम्मेदवार मन कुमारी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीबाट रविना खड्का, जनता समाजवादी पार्टीबाट सपना कार्की खड्का चुनावी मैदानमा छन् ।
तीबाहेक सवै उम्मेदवार स्वतन्त्र हुन् । स्वतन्त्र उम्मेदवारी दिएका अम्बिका श्रेष्ठ (आँखीझ्याल चिह्न), सर्किमा शेर्पा (कप प्लेट चिह्न), दिलबहादुर बस्नेत (कागजको फिरफिरे चिह्न), दिपक तामाङ (हजारी चिह्न), शिव शम्भु तामाङ (बिजुलीको खम्बा चिह्न), द्वारिका बुढाथोकी (चिम्टा चिह्न), अप्सरा विश्वकर्मा (सेलरोटीको चाङ चिह्न), मधुरा कार्की (डाडु पन्यु चिह्न) र पुष्प कार्की (क्याप चिह्न) चुनावी मैदानमा छन् ।
उनीहरु आ आफ्ना चुनावी चिन्ह लिएर गाउँ पुग्दा कांग्रेस, एमाले र माओवादी केन्द्र बाहेकका दलको भने उपस्थिति लगभग शुन्यजस्तै रहेको स्थानीयवासीहरु बताउँछन् ।
२०७९ सालको निर्वाचनमा उपाध्यक्ष पदमा ३ जना उम्मेदवार मात्र प्रतिस्पर्धामा थिए । त्यतिबेला नेपाली कांग्रेसका श्याम सुन्दर तामाङ ४ हजार ७४१ मतसहित निर्वाचित भएका थिए । एमालेका मुना शिवाकोटी केसीले ३ हजार २८१ मत पाएकी थिइन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका यसोदा पाठकले २४ मत पाएकी थिइन् ।