काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन भएको जानकारी पाएपछि कीर्तिपुर नगरपालिका र काठमाडौँ वडा नम्बर १६ मा छुट्टाछुट्टै अनुगमन टोली खटाएको छ ।
यही मंसिर १६ गते आइतबार ३२ जिल्लाका ३८ स्थानीय तहमा रिक्त ४१ पदका लागि उपनिर्वाचन हुँदै छ । कीर्तिपुर नगरपालिकामा मेयर र वडा नम्बर १ र ४ मा वडाध्यक्ष तथा काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदै छ ।
कीर्तिपुर र काठमाडौँ–१६ मा आचारसंहिता उल्लंघन भएको सूचना आएपछि आचारसंहिता अनुगमन टोली खटाइएको आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् ।
उनका अनुसार काठमाडौं–१६मा सहसचिव नारायणप्रसाद सापकोटा, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिग विजय सुवेदी, उपसचिव (कानून) सीता पुन श्रीष र प्रहरी उपरीक्षक सञ्जयसिंह थापा सम्मिलित अनुमगन समिति खटाइएको छ ।
यसैगरी, कीर्तिपुर नगरपालिकामा प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मी, उपसचिव डा थानेश्वर भुसाल, उपन्यायाधिवक्ता केदारकुमार अधिकारी र सशस्त्र प्रहरी उपरीक्षक अशोक न्यौपाने सहभागी अनुगमन टोली खटाइएको प्रवक्ता अर्यालले बताइन् ।
आयोगले मंसिर २ गतेदेखि निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न आचारसंहिता जारी गरेको थियो ।