काठमाडौँ । गृह मन्त्रालयले आसन्न स्थानीय तह उपनिर्वाचन हुने तीन क्षेत्रलाई ‘अति संवेदनशील’ घोषणा गरेको छ । यही मंसिर १६ गते ३२ जिल्लाका ३८ स्थानीय तहमा रिक्त ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो ।
उपनिर्वाचन हुने सप्तरीको डाक्नेश्वरी गाउँपालिका, रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका र जाजरकोटको नलगाड नगरपालिकालाई ‘अति संवेदनशील’ क्षेत्रको रुपमा वर्गीकरण गरेको गृह मन्त्रालयले जनाएको छ ।
यसअघि २०७९ सालमा भएको स्थानीय तह निर्वाचनसहितको आधारलाई लिएर गृह मन्त्रालले ती स्थानीय तहलाई अति संवेदनशील क्षेत्र घोषणा गरेर सोहीअनुसारको सुरक्षा रणनीति बनाएको छ ।
डाक्नेश्वरीमा वडा अध्यक्ष, पुथा उत्तरगङ्गा गाउँपालिकामा उपाध्यक्ष र नलगाड नगरपालिकामा उपप्रमुखको निर्वाचन हुँदै छ ।
अति संवेदनशील मदानस्थलमा १६ जना प्रहरी परिचालन गर्नेगरी निर्वाचन सुरक्षा योजना पारित गरेको गृहमन्त्री रमेश लेखक नेतृत्वको केन्द्रीय सुरक्षा समितिल संवेदनशील मतदानस्थलमा १४ जना र सुरक्षाको दृष्टिकोणले सामान्य मतदान स्थलमा १२ जना प्रहरी परिचालन गर्ने निर्णय गरेको छ ।
साथै तीन तहको सुरक्षा घेरामा उपनिर्वाचन हुँदै छ । जसअनुसार पहिलो तहको घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल र बाहिरी घेरामा नेपाली सेनाले सुुरक्षा दिनेछ ।